• ११ मंसिर २०८१, मङ्गलबार

समाजवादी समाजको आवश्यकता

blog

हामी हिमाल, मधेश, पहाडका कुनै क्षेत्रमा बसोबास किन नगरौँ, कुनै जातजाति, भाषाभाषी, धर्मावलम्बी किन नहोऊ, कुनै पेसा, व्यवसायमा संलग्न किन नहोऊ, विभिन्न राजनीतिक दल, सङ्घ संस्था सङ्गठनमा आबद्ध किन नहोऊ, हामी सबै नेपाली हौँ र हाम्रो मातृभूमि नेपाल हो । हामी सबैको मर्म र दर्द एउटै हो । यो मर्म र दर्द मेटाउन हामी सबैले पहाड, तराई, हिमालका कुनाकाप्चा, डाँडाकाँडा, भिरपखेरा, खेतबारी, मैदान हराभरा गर्न अनवरत कठिन परिश्रम गरिरहेका छौँ । क्रान्तिमा बारबार पसिना बगाइरहेका छौँ, बलिदान दिइरहेका छौँ, शासन व्यवस्थामा पनि परिवर्तन भइरहेको छ तर हाम्रो मर्म र दर्द कहिल्यै नमेटिने किन ? हामीबिच नै ५ प्रतिशत सम्पन्न र शक्तिशाली, ९५ प्रतिशत गरिब शक्ति र सम्पत्तिहीन किन ? कारण के ?

मुख्य कारण अर्थतन्त्र हो । अन्य कारणहरू सहायक अर्थतन्त्रका नै उत्पादन हुन् । हामी चिन्तनमा लागौँ, सामन्ती सोच र चिन्तनमा परिवर्तन गरौँ, निश्चिन्त भई नबसौँ, सजग र सक्रिय बनौँ, सही सत्य छुट्याउने र त्यसको अनुसरण गर्ने बानी बसालौँ । यसो गर्न हामीले सक्यौँ भने सबै हामीलाई धनी गरिब, सम्पन्न शक्तिशाली समाजमा मर्म र दर्दको जीवन जिउन बाध्य गर्ने यो सामन्ती समाजको विशाल र व्रजलेपी महल धराशाही गर्न र त्यसका ठाउँमा सन्तुलित समता भएको समाज सिर्जना गर्ने अर्थतन्त्रको निर्माण र कार्यान्वयन गर्नबाट कसैले रोक्न सक्ने छैन ।

कुनै मुलुकको आर्थिक, सामाजिक विकास र त्यसको पृष्ठभूमिमा कार्यान्वयनमा आएको त्यो मुलुकमा सफल देखिएको अर्थतन्त्र नेपालमा पनि सफल हुन्छ भनी त्यसको नक्कल गर्नु मूर्खताभन्दा अरू के हुन सक्छ ? अतः नेपालको आर्थिक, सामाजिक विकास, त्यसको पृष्ठभूमि र अहिलेको परिस्थितिलाई आधार बनाई कस्तो अर्थतन्त्र नेपालका सन्दर्भमा उपयुक्त र वैज्ञानिक हुन सक्छ, कस्तो अर्थतन्त्रले नागरिकबिच सन्तुलित समता भएको, सामाजिक सन्तुलन र नियन्त्रणको बलमा विकासमा अघि बढ्न सक्ने समाज निर्माण गर्न सक्छ, यस्तो सोचको आवश्यकता छ । त्यस्तो अर्थतन्त्र र त्यस्तो अर्थतन्त्र कार्यान्वयनमा आवश्यक नीति, कार्यव्रmम र योजनाको खोज र कार्यान्वयनले मुलुकमा शान्ति, स्थिरता कायम गर्ने, विकासलाई अघि बढाउने र समाजलाई वैज्ञानिक समाजमा परिवर्तन गर्ने छ । 

यस्तो अर्थतन्त्र र यस अर्थतन्त्रको कार्यान्वयनका लागि आवश्यक नीति, कार्यक्रम र योजनाहरूको खोज देशव्यापी रूपमा जीवनस्तरबाट नै छलफल गरी खोजिनु पर्दछ । विभिन्न गाउँपालिका, जिल्ला, वर्ग, जातजाति, सङ्घ संस्था, सङ्गठन, समुदाय, व्यक्तिबाट छलफल र निष्कर्षपछि प्राप्त विचार र सुझावमाथि विशेषज्ञ, बुद्धिजीवी, विभिन्न दल, सङ्घ, संस्था, सङ्गठन र समुदायका प्रतिनिधिबिच गहन छलफल हुनु पर्दछ । जनताबाट आएका विभिन्न विचार, सुझावलाई आधार बनाई के कस्तो अर्थतन्त्र र अर्थतन्त्र कार्यान्वयनका लागि आवश्यक नीति, कार्यक्रम र योजनाहरू उपयुक्त र वैज्ञानिक हुन्छन्, निर्णय गर्नु पर्दछ । सबैको जानकारीका लागि निर्णय सार्वजनिक पनि गर्नु पर्दछ ।

जनताका विभिन्न विचार र दृष्टिकोणहरूका बिच वाद, प्रतिवाद र समन्वयका क्रमले परिष्कृत निष्कर्ष र निर्णय बन्न पुगेको अर्थतन्त्र नेपालको अर्थतन्त्र र यस अर्थतन्त्रको कार्यान्वयनका लागि आवश्यक यसै प्रक्रियाबाट निष्कर्ष र निर्णयमा पुगेका नीति, कार्यक्रम र योजना सरकारका नीति र योजना बन्नु पर्दछ । यी निर्णयका विषयलाई संवैधानिक र कानुनी रूप दिने र कार्यान्वयनमा ल्याउने दायित्व सरकारको हो । अतः अर्थतन्त्र संविधानको अङ्ग बनाउन, नीति, कार्यक्रम र योजनाहरू संविधान सभाले सङ्कल्प प्रस्तावका रूपमा पास गर्न र नीति, कार्यक्रम र योजनाहरूको कार्यान्वयन प्रक्रिया अविलम्ब सुरु गर्न सरकारसँग माग गर्नु आवश्यक छ । सरकारले अनुरोध स्वीकार गरी माग पूरा नगरेमा जनता माग पूरा गराउने सङ्कल्पका साथ सङ्घर्षमा अघि बढाउन सक्नु पर्दछ । माग पूरा हुनु अथवा गर्नु गराउनुको अर्थ जनताले आजसम्म बगाएको रगत पसिना, दिएको बलिदान, भोगेको दुःखकष्ट, खोजेको उद्देश्य पूरा हुुनुले व्यक्तिविशेष र समूहविशेषको सफलता नभएर सम्पूर्ण मुलुक र सबै जनताको समष्टिगत सफलता हुने छ ।

व्यक्तिगत स्वार्थ, उद्देश्य पूरा गर्ने अवसर भएको अर्थतन्त्र र त्यसलाई संरक्षण गर्ने राजनीतिक व्यवस्थाले व्यक्तिगत स्वार्थ र उद्देश्य पूरा गर्ने प्रतिस्पर्धाको विकास गर्दछ । राष्ट्रिय सद्भाव, एकता, राष्ट्रिय स्वार्थ र राष्ट्रियता खलबल्याउँछ । जातजाति, भाषाभाषी, दल समूह र क्षेत्रगत विभिन्न खण्डित स्वार्थमा जनतालाई विभाजित गर्छ र अन्ततः मुलुकलाई नै विखण्डन गर्दछ । विश्वका धेरै मुलुकको इतिहास यसमा साक्षी छ ।

आज नेपालमा आइपरेका खतरापूर्ण बाटो बन्द गरिनु पर्दछ । यो बाटो बन्द गरिएन भने नेपाल असजिलो अवस्थामा पर्न सक्छ । आज विश्वका ठुला ठुला राज्यहरूले सुरक्षा र विकासलाई ध्यानमा राखी सहसंस्कृति, सहअस्तित्व र विकासका अवधारणाहरू अघि सारी सङ्गठित हुँदै गइरहेको विश्व परिवेश हामीले बुझ्नु पर्छ । अन्यथा समाज बदलिने छैन । राज्यका ९५ प्रतिशत जनतामाथि ५ प्रतिशतको आधिपत्य आज जस्तै यथावत् रहने छ, विकास हुन सक्ने छैन । शान्ति, समानता र विकास हुन सक्ने छैन । परिस्थिति बदलिने छैन । आज जस्तो छ, त्यस्तै रहने छ । यसो हुनुको परिणाम जे गरे पनि जसो भए पनि ९५ प्रतिशत नेपाली दुःखपीडाको जीवन जिउन बाध्य हुनु हो । 

हामी सबै नेपालीले एकजुट भई धेरै पटक स्वतन्त्रता र समता भएको, अभाव, दबाब र गरिबीमुक्त समाज, सम्पन्न र शक्तिशाली मुलुक निर्माण गर्ने उद्देश्यले रगत पसिना बगाउँदै बलिदान दियौँ तर उद्देश्य प्राप्त गर्न सकेनौँ । न अभाव, दबाब र गरिबीमुक्त, स्वतन्त्रता र समता भएको नेपाली समाज नै बन्न सक्यो न सम्पन्न र शक्तिशाली नेपाल नै बन्न सकेको छ । 

कारणबिना कुनै काम हुँदैन । जे जस्तो हाम्रो समाज र मुलुक छ, त्यसको पछि कारण छ भन्ने वैज्ञानिक सत्य हामीले भुल्याँै या सही कारण र त्यसको निदान खोज्न सकेनाँै, त्यसैले हाम्रो उद्देश्य पूरा हुन सकेन । हामी विचलित भयौँ, वैज्ञानिक चिन्तन र त्यसमा आधारित बाटोमा लाग्न सकेनौँ, हत्या, हिंसा, आतङ्क र विध्वंसको बाटोमा लाग्यौँ । आफँैमा उपद्रव मच्चायौँ । आ–आफैँ काटाकाट र मारामार ग¥यौँ । हजारौँ हामी नेपाल माताका सन्तति जीवनबाट हात धुन पुग्यौँ । आज पनि हामी हाम्रो मुलुक र समाजको निर्माण कसरी हुन सक्छ भन्ने चिन्तन र उपयुक्त बाटो ठम्याई त्यो बाटो हिँडेका छैनौँ, बाटो नै पहिचान गर्न सकेका छैनौँ । तुच्छ, स्वार्थ, अहङ्कार र दम्भ प्रदर्शन गरिरहेका छौँ र तिनैबाट निर्देशित छौँ, तिनैबाट निर्देशित बाटाहरू कोरेका छौँ र त्यसैमा दौडेका छौँ । सबै जनता र मुलुकको स्वार्थबाट विचलित हुन पुगेका छौँ । जातजाति, क्षेत्रगत जस्ता स्वार्थलाई अघि सारी शक्ति विभाजित र समय खेर फालिरहेका छौँ । समाज र मुलुक निर्माणसँग सम्बन्धित वैज्ञानिक चिन्तन र त्यसमा आधारित विचारबिचको प्रतिस्पर्धा शून्य छ । हठ, मूर्खता, स्वार्थ, तोडफोड, बन्द, अनर्गल काम र प्रलाप आदि आदि हाम्राबिचका प्रतिस्पर्धाका आधार र शक्ति बन्न पुगेका छन् । हामीले आफूलाई ठुलो क्रान्तिकारी र महान् नेताको दम्भ सधैँ प्रदर्शन गर्दै आएका छौँ । आफूले थोरै छोड्दा, थोरै त्याग गर्दा मुलुक र जनताले ठुलो राहत पाउँछ भने पनि थोरैभन्दा थोरै छोड्न या त्याग गर्न कहिले पनि सकिरहेका छैनौँ । 

माक्र्सले एउटा पुस्तकालयमा बसेर र महात्मा गान्धीले सत्य अहिंसाको व्रत र बाटोमा हिँडेर विश्वलाई नै परिवर्तनका नयाँ विचार र दर्शन दिए । तिनका विचार र दर्शनको बलमा विश्वका विभिन्न मुलुकमा ठुला ठुला परिवर्तन पनि भए । जसलाई हामीले नजिकबाट नियालिरहेका छौँ । ती क्रान्तिकारी हुन् कि परिवर्तनका नयाँ नयाँ चिन्तन, विचार र दर्शनसँग सरोकार नै नभएका आफ्नो स्वार्थ, आफू नेता र शक्तिशाली बन्ने जे पायो त्यही बोल्ने, जे पनि गर्ने, मुलुकमा आफूले भनेको नभए उपद्रव मच्चाउने आफूलाई महान् व्रmान्तिकारी सम्झने हामी व्रmान्तिकारी हौँ ? सोचौँ विचार गरौँ, वैचारिक प्रतिस्पर्धालाई अगाडि बढाऔँ । समाज र मुलुकलाई आमूल परिवर्तन गर्न सक्ने दर्शनमा विचारलाई बदलौँ । विश्वलाई नयाँ युग परिवर्तनको सन्देश दिन सक्ने सच्चा क्रान्तिकारी हामी बनौँ ।

राजनीतिक शक्ति र तिनको राजनीतिले जब मुलुकलाई नकारात्मक परिवर्तनतिर धकेलेको छ, जनताबिचको एकता, सद्भाव खल्बलाएको छ, महँगी, अभाव, गरिबी बढाएको छ । यो अवस्थामा राजनीतिक शक्तिहरू र तिनको राजनीति असफल नभएर सफल छ त ? सबैले एक पटक सोचौँ । गम्भीर विचार विमर्श गरौँ । 

कुनै व्यक्ति र समूहका ठाउँमा अर्को व्यक्ति र समूह सत्तामा पुग्नु, राष्ट्रपति, प्रधानमन्त्री र मन्त्री बन्नु मुलुक र जनताको सफल व्रmान्ति, सफल परिवर्तन र राजनीति मान्नु सामन्ती समाज र सामन्ती अर्थतन्त्रको विशेषता हो । यो अवश्य व्यक्ति र समूह तथा त्यसका राजनीतिको सफलता हो । मुलुकका जनता र राज्यको सफलता होइन । यो मुलुकको राजनीति र मुलुकको सफलता भए नेपालमा २००७ सालको राजनीतिक परिवर्तनपछि कति पटक एउटा व्यक्ति र समूह हटेको र अर्को व्यक्ति र समूह सत्तामा आएको छ । नेपाल राज्य सफल राज्यमा परिवर्तन हुनुपर्ने, सम्पन्न र शक्तिशाली बन्नुपर्ने, जनताले काम दाम पाउनुपर्ने, सुख र शान्तिको जीवन जिउन पाउनुपर्ने खै किन त्यसो हुन सकेको छैन ? 

लाखौँ लाख युवा कामको अभावमा विदेशी भूमिमा पुग्न बाध्य भएका छन् । तत्काल यसमा सुधार हुने अवस्थासमेत देखिएको छैन । देशको युवा पुस्ता बिदेसिनु सबैभन्दा दुःखद पक्ष हो । मुलुकका लाखौँ लाख जनता गाँस, वास, कपास, शिक्षा र स्वास्थ्यबाट वञ्चित छन् । उनीहरू निकै कष्टकर जीवन बिताउन बाध्य छन् । 

यो जो मुलुकको राजनीति र मुलुकका सफल क्रान्ति र परिवर्तन मान्दै आएका छौँ, यो सब सत्ता प्राप्त गर्ने र उच्च वर्गको व्यक्ति र समूहको सफलता हो । गम्भीर भएर केलाएर हेरौँ– वर्गविशेष र व्यक्तिविशेष सफल छ कि मुलुक र सम्पूर्ण जनता । सामन्ती समाज र सामन्ती अर्थतन्त्रमा परिवर्तन नभएसम्म मुलुक र जनताको राजनीति मुलुक र समाज परिवर्तन गर्ने राजनीति र क्रान्ति हुन सक्दैन । यो सब व्यक्तिविशेष र वर्गविशेष त्यसैका लागि र त्यसैको सफलताका लागि मात्र हुन्छ ।

अतः मुलुकको राजनीति, सफल राजनीति, मुलुकलाई सफल राज्यमा परिवर्तन गर्ने क्रान्ति र राजनीति, सन्तुलित समता भएको सामाजिक नियन्त्रण र सन्तुलनको बलमा विकासमा अघि बढ्ने समाज निर्माण गर्न सक्ने अर्थतन्त्रको खोज र कार्यान्वयनको क्रान्ति र राजनीति हो । तसर्थ यो क्रान्ति र राजनीतिमा सबै जनता एक हौँ, समर्पित बनौँ । यो राजनीतिको सफलतामा मात्र नेपाल राज्य सफल राज्य बन्ने छ ।

  

Author

ढुण्डीराज शास्त्री