• ११ मंसिर २०८१, मङ्गलबार

तनहुँ जलविद्युत्को मुख्य बाँध निर्माण हुँदै

blog

काठमाडौँ, कात्तिक २१ गते । १४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माणका लागि सेती नदी फर्काइएको छ । 

ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ सिमाना भएर बग्ने सेती नदीलाई १४० मिटर अग्लो कङ्क्रिट मुख्य बाँध निर्माणस्थलभन्दा माथिल्लो तटीय क्षेत्रबाट ६२६.९२ मिटर लामो सुरुङ निर्माण गरी फर्काइएको छ । डाइभर्सन सुरुङमार्फत फर्काइएको पानीलाई मुख्य बाँध निर्माणस्थलबाट तल्लो तटीय क्षेत्रमा पुनः सेती नदीमा खसालिएको छ । 

जिल्ला समन्वय समिति, तनहुँका प्रमुख शान्तिरमण वाग्ले, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं तनहुँ हाइड्रोपावर लि. सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङ, तनहुँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल र एसियाली विकास बैङ्कका वरिष्ठ निर्देशक (ऊर्जा) प्रियन्था विजयतुङ्गाले सोमबार बेलुन उडाएर नदी फर्काउने कार्यको सुभारम्भ गर्नुभयो ।

अब मुख्य बाँध निर्माण अवधिसम्मका लागि नदी फर्काउनका लागि करिब ४० मिटर अग्लो अस्थायी कङ्क्रिट बाँध (कफर ड्याम) निर्माण गरिने छ । उक्त बाँध आगामी मनसुन सुरु हुनुभन्दा पहिले नै निर्माण सक्ने गरी काम भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । 

कार्यकारी निर्देशक घिसिङले नदी फर्काउने कार्य आयोजना निर्माणका लागि एउटा महत्वपूर्ण कोसेढुङ्गा र फड्को भएको बताउनुभयो । विगतमा परामर्शदाता र निर्माण व्यवसायी छनोटमा केही ढिलाइ भए पनि अहिले नमुना आयोजनाका रूपमा अगाडि बढाउने गरी काम भइरहेको उल्लेख गर्दै घिसिङले समयमै सम्पन्न गर्ने गरी तदारुकताकासाथ काम भइरहेको बताउनुभयो । 

आयोजनाको समग्र निर्माण प्रगति करिब ४६ प्रतिशत रहेको छ । समग्र निर्माण २०८३ असारभित्र (सन् २०२६ मे) सक्ने लक्ष्य राखिएको छ । 

एडिबीका वरिष्ठ निर्देशक (ऊर्जा) प्रियन्था विजयतुङ्गाले कालीगण्डकी जलविद्युत् निर्माण सम्पन्न भएपछि बैङ्कले तनहुँ जलविद्युत्मा लगानी गरेको उल्लेख गर्दै आयोजनाले अवलम्बन गरेका सामाजिक र वातावरणीय सुरक्षणका क्रियाकलापलाई नमुनाका रूपमा दुधकोशी जलविद्युत् आयोजनामा लागु गर्न सकिने बताउनुभयो । उहाँले विगत वर्षदेखि नेपालको ऊर्जा क्षेत्रमा गर्व गर्न लायक काम भएको बताउँदै दुधकोशी जलविद्युत् जस्ता ठुलो आयोजनामा एडिबीले लगानी गर्न लागिरहेको उल्लेख गर्नुभयो । 

तनहुँ हाइड्रोपावर लि. का प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठले कुलेखानीपछि बन्न लागेको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्न सम्पूर्ण ध्यान केन्द्रित गरिएको बताउनुभयो । उहाँले आयोजना निर्माणमा स्थानीय तह, प्रशासन, स्थानीय बासिन्दालगायत सबैको साथ र सहयोग रहेको उल्लेख गर्नुभयो । आयोजनाको मुख्य निर्माण कार्यलाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । प्याकेज–१ अन्तर्गत १४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ दा कर्पोरेसन, भियतनाम–कालीका कन्स्ट्रक्सन (प्रा.) लि. नेपाल जेभीसँगको ठेक्का सम्झौता १४ भदौ २०७८ बाट कार्यान्वयनमा आएको थियो । 

निर्माण व्यवसायीले हाल अर्को डाइभर्सन सुरुङ र मुख्य बाँध निर्माणका लागि सेती नदीको दायाँ तथा बायाँतर्फबाट पहाड (स्लोप) काट्ने कार्य गरिरहेको छ । उक्त कार्यको प्रगति करिब ५४ प्रतिशत छ । प्याकेज–१ को समग्र प्रगति २५ प्रतिशत छ । 

आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका प्याकेज–२ को निर्माण कार्यका लागि सिनो हाइड्रो कर्पोरेसन, चीनले ६ माघ २०७५ बाट आयोजनास्थलमा परिचालित भई निर्माण कार्य जारी राखेको छ । यस प्याकेजको सिभिलतर्फको निर्माण प्रगति ७० प्रतिशतभन्दा बढी छ भने समग्र प्रगति करिब ४७ प्रतिशत छ । प्याकेज–३ अन्तर्गत दमौली–भरतपुर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माणका लागि केइसी इन्टरनेसनल लिमिटेड, भारतले ९४ वटा टावरमध्ये ६९ वटा टावरको जग हालेको छ भने ३३ वटा टावर खडा गरिएको छ । यस प्याकेजको समग्र निर्माण प्रगति ६९ प्रतिशत रहेको प्राधिकरणले जनाएको छ । 

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ ।