• १५ मंसिर २०८१, शनिबार

कालिगण्डकीमा गाउँपालिकाको व्यावसायिक फूलखेती

blog

कालिगण्डकी गाउँपालिकामा फक्रेका ढकमक्क सयपत्री फूल । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले 

स्याङ्जा, कात्तिक २० गते । गाउँपालिकालाई फूलमा आत्मनिर्भर बनाउन कालिगण्डकी गाउँपालिकाले सक्रियता बढाएको छ । पालिकाले विगत तीन वर्षदेखि फूलमा आत्मनिर्भर बनाउन सक्रियता बढाएर फूल खेती गरिरहेको छ । यहाँ पालिका, विद्यालय तथा सामूहिक व्यावसायिक फूल खेती गरिएको छ । 

यहाँ पालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा १६ जना कृषकले ६० रोपनी क्षेत्रफलमा फूल खेती गरेका छन् । कृषकलाई व्यावसायिक फूल खेतीमा आकर्षित गर्न पालिकाले १५ रोपनी र ध्रुवज्योती माध्यमिक विद्यालयले तीन रोपनी क्षेत्रफलमा व्यावसायिक फूल खेती गरेको हो । 

यहाँका सबै बगैँचामा अहिले तिहारका लागि बाहिरबाट किन्न नपर्नेगरी ढकमक्क सयपत्री फूल फुलेको छ । यहाँ वडा ७ मा रहेको लालीगुराँस होमस्टे बारीचौरलाई फूलैफूलको होमस्टे बनाउने उद्देश्यले पालिकाको ५० प्रतिशत अनुदानमा तीन हजार पाँचसय सयपत्री फूल फुलेको छ । 

गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले कृषिलाई प्राथमिकता राखेर कृषकको जीवनस्तर उकास्न पालिकाले फूल खेतीलाई प्राथमिकता दिएको बताउनुभयो । गाउँपालिकाले कम्तीमा दुई रोपनीमा फूल खेती गर्ने कृषकलाई प्रतिरोपनी नौ हजार रुपियाँ अनुदानका साथमा प्रविधि, सीप, तालिम तथा आवश्यक सहयोग गरेको छ । 

यहाँ उत्पादित फूल होलसेलमा २५० प्रतिकेजी र खुद्रा तीनसय रुपियाँ प्रतिकेजीका दरले बिक्री भइरहेको छ । यहाँ गत वर्ष सात हजार केजी फूल उत्पादन गरेर १८ लाख रुपियाँ गरेको बताउँदै पालिका अध्यक्ष थापाले यस वर्ष १० हजार केजी उत्पादन गरी २५ लाखको आम्दानी गर्ने लक्ष्य लिएको बताउनुभयो । 

यहाँ ग्राहकको मागअनुसार तयारी माला प्रतिगोटा ७० रुपियाँदेखि १५० भन्दा बढी मूल्यमा बिक्री भइरहेको छ । यहाँको ध्रुवज्योती माध्यमिक विद्यालयका प्रधानाध्यापक हिरा गाहाले फूलखेतीले विद्यालयको सौन्दर्य बढाउनुका साथै आर्थिक उपार्जनमा सहयोग गरेको बताउनुभयो । विद्यालयमा गत आर्थिक वर्षमा एक लाख कमाएको यस आर्थिक वर्षमा दोब्बर आम्दानी गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । 

फूलबाट कमाएको रकम विद्यालयको शैक्षिक विकासमा खर्च गर्ने गरिएको प्रधानाध्यापक गाहाले बताउनुभयो । सबैभन्दा धेरै चार रोपनी क्षेत्रफलमा काशीराम न्यौपानेले फूल लगाउनु भएको र दुई हजार पाँचसय सयपत्री फूलका बिरुवाहरू फक्रेर ढकमक्क भएको छ ।