पोखरा, कात्तिक २० गते । कलिन फिलिप स्मिथ (पुतली बाजे) को पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि राखिएको छ । सोमबार उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि अन्नपूर्ण नेचुरल हिस्टोरी म्युजियममा राखिएको हो । जन्मले बेलायती नागरिक भए पनि नेपालमा बसेर पुतलीको अध्ययन, सङ्कलन र संरक्षणमा योगदान गरेका कलिन फिलिप स्मिथ अर्थात् ‘पुतली बाजे’ को ८७ वर्षको उमेरमा निधन भएको थियो ।
उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि राखिएको र पोखरा महानगरपालिका उहाँको सम्मानका लागि श्रद्धाञ्जलिका लागि सङ्ग्रहालयमा राखिएको महानगर प्रमुख आचार्यले बताउनुभयो । प्रमुख आचार्यले पुतली बाजे आफ्नो मिसनमा भएको र वातावरण, पर्यावरण र पुतलीको अध्ययन र विश्लेषण गर्ने काममा लागेको स्मरण गर्नुभयो ।
काठमाडौं र पोखरामा एक गरी तीन वटा पुतली सङ्ग्रहालय बन्नुमा उहाँको ठूलो योगदान रहेको बताउनुभयो । उहाँका योगदानलाई चिरस्थायी बनाउनु महानगरपालिकाको कर्तव्य भएको जानकारी दिनुभयो । पोखरास्थित हरियोखर्क अस्पतालमा उपचारका क्रममा शनिबार उहाँको निधन भएको थियो ।
नेपालमा पाइने पुतली अभिलेखीकरण गर्नेमा उहाँको नाम पहिलो नम्बरमा आउँछ । उहाँले पुतलीको खोजीमा ५० वर्ष बिताउनुभएको थियो । सन् २०२२ मा बेलायतबाट युनाइटेड मिसन टु नेपालमार्फत पढाउन नेपाल आएका थिए ।
सन् २०२३ मा हालको पृथ्वीनारायण क्याम्पस परिसरमा अन्नपूर्ण नेचुरल हिस्ट्री म्युजियममा त्रिभुवन विश्वविद्यालयसँग ६ वर्षे सम्झौता गरेर ४० जिल्लाको भ्रमण गरी करिब २५ हजार पुतली सङ्ग्रह गरेका थिए । विश्वमा पाइने १७ हजार पाँच सय प्रजातिका पुतलीमध्ये नेपालमा ६६० प्रजातिका भेटिएका छन् । ३० वर्षको उमेरमा नेपाल आएका पुतली बाजे त्यसपछिका ५८ वर्षसम्म पोखरामा रहनुभएको थियो ।