• ३ असार २०८१, सोमबार

दुई सय स्वास्थ्यकर्मी भूकम्प प्रभावित क्षेत्रमा परिचालित

blog

घाइतेलाई उपचार गर्दै स्वास्थ्यकर्मीहरू । तस्बिर: वासुदेव शर्मा

वासुदेव शर्मा 

जाजरकोट, कात्तिक २० गते । चिकित्सक र स्वास्थ्यकर्मीको दुई सय जनाको टोली भूकम्प प्रभावित क्षेत्रमा खटिएको छ । 

गत शुक्रबार मध्यरातमा गएको भूकम्पमा परी घाइते भएका सर्वसाधारणको उपचारका लागि स्वास्थ्यकर्मीको टोली जाजरकोटका भूकम्प प्रभावित सातवटै पालिकाका गाउँबस्तीमा परिचालन भएको छ ।

जाजरकोट अस्पतालका सम्पर्क व्यक्ति  कृष्णबहादुर खत्रीका अनुसार नेपालगन्ज, सुर्खेत, काठमाडौँ, दाङलगायतका अस्पताल तथा स्वास्थ्य संस्थाका चिकित्सक टोलीमा संलग्न छन् । 

साथै,टोलीमा नेपाली सेना, सशस्त्र प्रहरीका विशेषज्ञ डाक्टर स्वास्थ्यकर्मीको घाइतेको उपचारका लागि औषधिसहित ग्रामीण बस्तीमा पुगेको खत्रीले बताउनुभयो । 

इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीको टोली भूकम्पको केन्द्रबिन्दु रामिडाँडा पुगेको छ । डाक्टरसहितको टोलीले बारेकोट गाउँपालिका १ रामिडाँडा, सिल्पाचौरका घाइते तथा प्रभावित जनतालाई स्वास्थ्य उपचार गर्न थालेको सुवेदीले बताउनुभयो । 

बारेकोट १ रामिडाँडामा राहत सामग्री समयमा नपुगेका कारण खुला आकाशमुनि सर्वसाधारण बस्न बाध्य भएका छन् ।