• १५ मंसिर २०८१, शनिबार

सेनेटरी प्याडमा आर्थिक चलखेल

blog

प्रनिश गिरी 

पर्वत, कात्तिक २० गते । पर्वतको कुस्मा नगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई निःशुल्क वितरण गर्न खरिद गरिएको सेनेटरी प्याडमा आर्थिक चलखेल भएको आरोप लागेको छ । आर्थिक अनियमितताका कारण सेनेटरी प्याडको भुक्तानी रकम रोकिएको छ । नेपाल सरकारको ससर्त अनुदान अन्तर्गत आर्थिक वर्ष २०७९/८० को स्वीकृत कार्यक्रम अनुसार सेनेटरी प्याड खरिदका लागि विराटनगरको जसमिन हाइजिङ प्रोडक्ट प्रालिसँग २०८० असार १२ मा सम्झौता भएको थियो । 

नगरपालिकाले उक्त कम्पनीसँग गरिएको खरिद सम्झौतामा ३३ हजार २२५ प्याकेट (प्रतिप्याकेट आठ वटा) का लागि प्रतिप्याकेट  ३६.२८ रुपियाँ दरले जम्मा १२ लाख पाँच हजार ४०३ रुपियाँ भुक्तानी गर्नुपर्ने हुन्छ । सप्लायर्स कम्पनीले सम्झौताबमोजिमको खरिद सामग्री उपलब्ध गराउने क्रममा नियमित प्रक्रिया पूरा नगरी शिक्षा अधिकृत विष्णुप्रसाद तिवारीसँग मात्र सुटुक्क सम्पर्क गरी सेनेटरी प्याड बुझाएको बताइएको छ । 

अन्य आवश्यक शाखासँग समन्वय गरेको देखिँदैन। कसैसँग समन्वय नगरी सप्लायर्सबाट बुझिएको सेनेटरी प्याड नगरपालिकाको एक कोठामा भण्डारण गरिएको छ । भण्डारण गरिएको सेनेटरी प्याडको नमुना हेर्दा सम्झौताविपरीतको रहेको प्रशासकीय अधिकृत चण्डिका पौडेलले बताउनुभयो । 

यस विषयमा नगरपालिकाका सूचना अधिकारी ध्रुवराज पौडेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो। छानबिन समितिले तयार पारेको प्रतिवेदन अनुसार सप्लायर्स कम्पनीसँगको मिलेमतोमा शिक्षा अधिकृत तिवारीले परिमाणभन्दा कम सामान सप्लाई गरी भुक्तानी माग गर्न लगाएको उल्लेख छ । 

छानबिन प्रतिवेदनमा कम्पनीले सप्लाई नगरेको नपुग परिमाणका सामग्री कार्यालयभन्दा अन्यत्र भण्डारण गरिएको र अन्य सरोकारवाला शाखासँग कुनै समन्वय नगरी एक्लै सामान बुझेको हुँदा शिक्षा शाखा प्रमुख तिवारी सप्लायर्सको मतियार भएको देखिने बताइएको छ । 

सम्झौता अनुसार सेनेटरी प्याडको लम्बाइ २८० मिमी हुनुपर्नेमा भण्डार गरिएको प्याडको लम्बाइ २३० मिमी मात्रै रहेको, एउटा प्याडभित्र आठ पिस हुनुपर्नेमा छ पिस मात्रै भएको पाइएको छ । भण्डारमा पाइएको सेनेटरी प्याड सम्झौता सङ्ख्याभन्दा कम १६ हजार ६७५ रहेको छ । सम्झौता अनुसार सेनेटरी प्याड उपलब्ध नभएपछि नगरपालिकाले रकम भुक्तानी नगरेको सूचना अधिकारी पौडेलले बताउनुभयो । 

उहाँका अनुसार सामुदायिक विद्यालयका छात्रालाई यस आवमा नगरपालिकाले सेनेटरी प्याड वितरण गरेको छैन। शिक्षा अधिकृत तिवारीलाई अहिले कार्यकारी प्रशासकको जिम्मेवारी दिइएको छ । सेनेटरी प्याड खरिदमा भएको आर्थिक चलखेलका सम्बन्धमा आरोप लगाइएका प्रशासकीय अधिकृत तिवारीले भन्नुभयो, “पोहोर टेन्डरको विवादले खरिद गर्न सकिएको थिएन । अब भने छिट्टै खरिद प्रक्रिया अगाडि बढाइने छ ।”