• १३ मंसिर २०८१, बिहिबार

सरकारी जग्गामा व्यक्तिद्वारा भाडा असुली

blog

सरकारी जग्गाबाट ब्यक्तिले भाडा असुल गर्दै आएको सलीसल्ला बजार । तस्बिर : राजन रावत

राजन रावत 

हुम्ला, कात्तिक १९ गते । कर्णाली कोरिडोरको हुम्ला खण्डमा नयाँ स्थापना भएको सलीसल्ला बजार क्षेत्रमा सरकारी जग्गाको भाडा व्यक्तिले असुल्दै आएको पाइएको छ । सो स्थान राष्ट्रिय सडक सञ्जाल जोडिएपछि व्यापारीले कटेरो निर्माण गरेर व्यापार व्यवसाय गर्न सुरु गरेपछि सर्केगार्ड गाउँपालिका–१ को जैर गाउँका स्थानीय व्यक्तिहरूले त्यसको भाडा उठाउँदै आएको पाइएको हो । 

सलीसल्लामा व्यापार गर्दै आउनु भएका व्यापारी जनमराज शाहीले तीन कोठे कटेरो निर्माण गरिएको जमिनको वर्षमा एक लाख रुपियाँ भाडा तिर्दै आएको बताउनुभयो । हाल उहाँले एउटा कटेरो छोड्नु भएको र बाँकी दुईवटा कटेरो निर्माण गरिएको जग्गाको भाडा तिर्दै आउनु भएको छ । उहाँले जैर गाउँका स्थानीय व्यक्तिले यसरी सरकारी जग्गामा ढुङ्गा राखेर रोजेको र त्यसैका आधारमा मन परी भाडा असुल गरिरहेको बताउनुभयो । 

अर्का व्यापारी जयराज सन्ज्यालले कहीँ नभएको नियम सलीसल्ला बजारमा जैर गाउँका स्थानीय व्यक्तिहरूले लगाएर सरकारी जग्गाको भाडा असुल गर्दै आएको बताउनुभयो । उहाँले भाडा पनि जग्गा रोजेका व्यक्तिले मनोमानी रूपमा असुल्ने गरेको बताउँदै अर्कोतर्फ वार्षिक वडालाई प्रतिवर्ग मिटर पच्चीस रुपियाँ छुट्टै राजस्व तिर्नु परिरहेको बताउनुभयो ।

 उहाँले सरकारी जग्गाको भाडा असुल्न नपाइने बताउँदा उल्टै स्थानीय झगडा गर्न आउने गरेको बताउँदै चुप लागेर वार्षिक रूपमा एक लाख १५ हजार भाडा तिर्ने गरेको बताउनुभयो । उहाँले दुई वर्षदेखि सरकारी जग्गाको भाडा तिर्दै आउनु भएको छ । सडक सञ्जाल नजोडिनु अघि सो स्थानमा मानिस बस्ने स्थान थिएन । 

उहाँले राष्ट्रिय सडक सञ्जाल जोडिनु र कर्णाली नदी माथि सलीसल्लामा पुल निर्माण नभएको कारण बजार स्थापना हुँदा सरकारी जग्गा व्यक्तिले रोजे कै भरमा भाडा तिर्नु परिरहेको गुनासो गर्नुभयो । सलीसल्लामा सत्तरीभन्दा बढी कटेरोहरू निर्माण गरी व्यापारीले व्यापार व्यवसाय गर्दे आउनु भएको छ । 

सलीसल्लाको जैर गाउँ पट्टीको सरकारी जग्गामा कटेरो स्थापना गरेर व्यापार गर्दै आउनु भएका व्यापारी कम्तीमा वार्षिक चालीस हजारदेखि बढीमा डेढ लाख रुपियाँ भाडा व्यक्तिलाई तिर्दै आएको व्यापारीको भनाइ रहेको छ । 

विगत तीन वर्षदेखि उक्त जग्गाको भाडा व्यक्तिले असुली रहेको पाइएको हो । सो स्थानमा हुम्लाका साथै मुगु, जुम्ला, कालिकोट, बाजुरा, दैलेख र सुर्खेतबाट व्यापारीहरू आएर व्यापार गर्दै आउनु भएको छ । लक्ष्मण मल्लसहित ३१ जना जैर गाउँका स्थानीय व्यक्तिले जग्गाको भाडा असुल गरिरहेको व्यापारीले बताउने गर्नुभएको छ । 

राज्यलाई नियम अनुसार कर तिर्न पाएको भए स्वाभाविकै हुने बताउँदै उहाँले गैरकानूनी रूपमा भाडा तिर्नु परे पनि सर्केगार्ड गाउँपालिकाले कुनै सुनुवाइ नगरेको बताउनुभयो । सो स्थानमा प्रहरी चौकीसमेत स्थापना हुन सकेको छैन । यस सम्बन्धमा सर्केगार्ड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकाया र उपाध्यक्ष चन्द्रसिंह कार्कीसँग सम्पन्न गर्न खोज्दा दुवै जनाको मोबाइल अफ रहेको छ । 

प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले यस सम्बन्धमा सरकारी जग्गामा यसरी व्यक्तिले भाडा असुल्न नपाइने बताउँदै आफूलाई यस सम्बन्धमा जानकारी नभएको र अब बुझ्ने बताउनुभयो ।