• १२ साउन २०८१, शनिबार

जाजरकोट भूकम्प: चिउरी गाउँको चोचे टोलका सबै घर ध्वस्त, तिहार मनाउन आएका व्यक्तिको पनि मृत्यु

blog

फाइल तस्बिर

भेरीगङ्गा (सुर्खेत), कात्तिक १९ गते । जाजरकोट जिल्लाको नलगाड नगरपालिका-१ को चिउरी गाउँको चोचे टोल कात्तिक १७ गते राति आएको भूकम्पले ध्वस्त भएको छ । अधिकांश दलित समुदाय रहेको यो बस्तीमा एक सय ८६ घरधुरी रहेकामा अधिकांश घर पूर्णरुपमा र केही घर आंशिक रूपमा क्षति भएपछि चोचे टोलका सबै नागरिक घरबारविहीन भएका छन् ।

खलङ्गाबाट डेढ घण्टाको दूरीमा रहेको यो गाउँका बाँकी रहेका अन्य घर पनि बस्न नमिल्ने गरी चिराचिरा परेका छन् । यहाँका सबै घर ध्वस्त भइसकेका छन् । पीडित अविलाल विकले भन्नुभयो, “हाम्रो यो गाउँमा अधिकांश दलित समुदाय बस्दै आएका थियौँ, वर्षामा समेत पहिरोले जोखिम पारेको हाम्रो टोललाई अस्ति आएको भूकम्पले स्वाहा नै बनायो ।” 

अहिले यो टोलका सात सय व्यक्ति घरबारविहीन भएको उहाँले बताउनुभयो । विकले भन्नुभयो, “हामी घरबारविहीन भयौँ आफन्त गुमायौँ, खानेकुरा घरमै पुरियो, लाउने कपडा पनि पुरियो, अस्तिदेखि भोकभोकै छौँ । केटाकेटी चिसोले हैरान भइसके ।” उहाँ जस्तै चोचे गाउँका सबै व्यक्तिको पीडा त्यस्तै छ । उनीहरूले अब आफन्त गुमाए पनि बाँचेकाको लागि गाँस र बाँसको व्यवस्था गरिदिन सरकारसँग माग गरेका छन् । 

चोचे टोलमा १४ जनाको मृत्यु 

यो टोलमा भूकम्पमा परी १४ जनाको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ । मृत्यु हुनेमा पाँच बालबालिका, सात २० वर्ष माथिका र अन्य दुईजना ज्येष्ठ नागरिक रहेको प्रहरीले बताएको छ । तेह्र जनाको भूकम्पमा परी घटनास्थलमै मृत्यु भएको र एक जनाको उपचारका क्रममा नेपालगन्जमा मृत्यु भएको थियो । मृत्यु भएका अधिकांश व्यक्ति भारतमा रोजगारीका लागि गएर फर्किएका थिए । उनीहरू तिहार मनाउन घर फर्किएकामा तिहार मनाउन नपाउँदै मृत्यु भयो । 

स्थानीयवासी हीरा चंदाराको भदै तिहार मनाउन भारतबाट घर आउनुभएको थियो । चाडबाडमा रमाइलो मनाउन गाउँ फर्किनुभएकी उहाँको भूकम्पमा परी मृत्यु भयो । त्यसैगरी अन्य व्यक्ति पनि चाडबाडका लागि भारतबाट घर आएका थिए तर भूकम्पका कारण गाउँका सबै जनाको खुसी र हाँसो आँसुमा परिणत भएको छ । 

केही घरका त परिवारका सबै सदस्यको मृत्यु भएको छ । भिउसन कुमाईंको चार जनाको परिवारको भूकम्पमा परेर मृत्यु भएको छ । भूकम्पमा परेर मृत्यु भएका यो गाउँका १३ जनाको दाहसंस्कार हुनसमेत ढिलाइ भएको थियो । उनीहरूलाई निकाल्न नै समय लागेकाले दाहसंस्कार आज गरिएको हो । यो गाउँका पीडितलाई राहात र पुनः स्थापनाका लागि कुनै कसर बाँकी नराख्ने कर्णाली प्रदेश सरकारले प्रतिबद्धता जनाएको छ । रासस