• १३ मंसिर २०८१, बिहिबार

आठबिसकोटमा आइपुग्यो राहत सामग्री

blog

जाजरकोट जिल्लाका भूकम्प पीडितलाई पठाउन भेरी नगरपालिका-३ थाप्लेमा सङ्कलन गरिएको राहत सामग्री । तस्बिर : हेमन्त केसी/रासस

त्रिवेणी (रुकुम पश्चिम), कात्तिक १९ गते । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा भूकम्प पीडितलाई राहत साग्रमी आइपुगेको छ । कर्णाली प्रदेश सरकारले नेपाली सेनाको हेलिकप्टरमार्फत आठबिसकोटमा राहत सामग्री पठाएको हो । 

आजदेखि भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्री वितरण गर्न थालिएको नगरपालिकाले जनाएको छ । सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टरमार्फत नगरपालिकामा पहिलो चरणमा बिस्कुट, चाउचाउ,  त्रिपाललगायत सामग्री आइपुगेको आठबिसकोट नगरपालिकाका जिन्सी शाखा प्रमुख टेकबहादुर चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य ठाउँबाट पनि राहत सामग्री आउने क्रम जारी छ । 

नगरपालिकाबाट दाल, चामल, नून, तेललगायत आवश्यक सामग्री तयार गरेर भूकम्प प्रभावित क्षेत्रमा जाने तयारी भइरहको आठबिसकोटका निमित्त प्रमुख प्रशासकीय अधिकृत मनिराज शाहले जानकारी दिनुभयो । पहिलो चरणमा २८ परिवारलाई राहत सामग्रीसँगै बस्नका लागि त्रिपाल वितरण गरिनेछ ।

आजै प्रभावित क्षेत्र आठबिसकोट-११, १२, १३ र १४ वडाका भूकम्प पीडित परिवारलाई राहत सामग्री वितरण गरिने उहाँले जानकारी दिनुभयो । शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा ठूलो मानवीय तथा भौतिक क्षति बेहोर्नुपरेको छ । रासस