• १२ साउन २०८१, शनिबार

भूकम्पपीडितको सहयोगार्थ नवलपुरमा रक्तदान

blog

कावासोतीमा भूकम्पपीडितको सहयोगार्थ रक्तदान गर्दै युवा । तस्विर : मीना कंडेल

मीना कंडेल

कावासोती, कात्तिक १९ गते । पूर्वी नवलपरासीको कावासोतीमा भूकम्पपीडितको सहयोगार्थ रक्तदान कार्यक्रम आयोजना गरिएको छ । जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पमा परी घाइते भएका बिरामीहरूको उपचारका लागि सहयोग गर्न नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल नवलपुर शाखाले खुला रक्तदान कार्यक्रम गरेको छ ।

जाजरकोट भूकम्पबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै बढ्दो रगतको अभाव परिपूर्ति गर्ने उद्देश्यले भूकम्पबाट घाइते भएकाको उपचारमा सहयोग गर्न रक्तदान गर्न लागिएको जनाइएको छ । बिहान ११ बजेदेखि  रक्तदान कार्यक्रम सुरु भई दिनभर जारी रहने नेपाल विद्यार्थी सङ्घका  नवलपुरका अध्यक्ष हरि सुवेदीले जानकारी दिनुभयो ।

“रगतको अभाव भएकाले हामीले पनि आफ्नो तर्फबाट त्यसलाई कम गर्न प्रयास गर्दैछौं । युवालाई रक्तदानका लागि आग्रह गरेका छौँ” उहाँले भन्नुभयो । नवलपुरमा रहनुभएका विद्यार्थी, युवा, सर्वसाधारण सबै सहभागी हुने विश्वास लिएको बताउनुभयो । नवलपुरको नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार केन्द्रमा रगत सङ्कलन गरेको सुवेदीले जानकारी दिनुभयो ।

रगतको अभावले कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सोचेर रक्तदान गरेको हुप्सेकोटका हुमन पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नो सानो सहयोगले जीवन बचाउन सकिन्छ भने किन सहयोग नगर्ने, खेर जानी रगतलाई जीवनदान गरेका हौँ ।”