• १९ वैशाख २०८१, बुधबार

पर्यटकले भरिन थाल्यो मनाङ

blog

यदुप्रसाद भट्ट 

मनाङ, कात्तिक १९ गते । चाडपर्व आउँदा होस् वा पाँच/सात दिन बिदा भयो भने कतै घुम्न जान पाए हुन्थ्यो भन्ने कुराले नेपालीलाई तानेकै छ । नेपालीमा पाँच दिनको प्याकेजमा महँगो शुल्क तिरेर थाइल्यान्ड जानुको सट्टा आफ्नै देशका पर्यटकीय तथा धार्मिक स्थलको भ्रमण गर्ने प्रचलन बढ्दै गएको पाइएको छ । 

दसैँतिहार जस्ता चाडपर्व आउँदा सहर बजारबाट गाउँ घर जाने त पुरानै चलन हो तर विकट हिमालपारिको जिल्ला मनाङको हकमा भने यो सन्दर्भ अलि फरक छ । जब चाडपर्व आउँछन् तब प्रायः मनाङी सहरबाट गाउँ जाँदैनन् । बरु गाउँबाट सहर पस्छन् । मनाङका अधिकांशको घर लमजुङको बेँसीसहर, पोखरा तथा काठमाडौँलगायतका सहरमा छ । सन्तान विदेश भएका र सहरमा बसेर अध्ययन गरेकाको चाडपर्व गाउँ नभई सहरमै बित्ने गरेको छ । चाडपर्व तथा बिदाका बेलामा देश विदेशबाट आउने पर्यटकले भने भ्रमणका लागि मनाङलाई गन्तव्य बनाएका छन् । कोरोनाकालमा ठप्प रहेको भ्रमण संस्कृति हिजोआज ह्वात्तै बढेको छ । नासो गाउँपालिका–५ का वडाध्यक्ष थुतेन लामा विगतको तुलनामा आन्तरिक पर्यटक बढ्नुले नेपालीमा भ्रमण तथा अवलोकनमा निस्कने प्रचलन बढेको बताउनुहुन्छ । दसैँतिहारको बिदामा दैनिक रूपमा मनाङ आउने पर्यटक ह्वात्तै बढेको उहाँको भनाइ छ । 

गोरखाबाट काठमाडौँ आएर होटल व्यवसाय गरेका नीलप्रसाद पोखरेलको परिवारले पनि चाडपर्वका बेला बिदाको मौका छोपेर मनाङ भ्रमणमा निस्किनुभयो । आन्तरिक पर्यटनलाई बढावा दिने हेतुले पोखरेल परिवार विश्वको अग्लो स्थानमा रहेको तिलिचो तालको भ्रमणमा निस्किनुभयो । बाटाभरि मान्छेको भिड देख्दा खान बस्न नपाइने चिन्ताले सताएको पोखरेल बताउनुहुन्छ तर मनाङका होटल व्यवसायीले मिलाएको बन्दोबस्त तथा सत्कारले प्रफुल्ल बनाएको पोखरेल बताउनुहुन्छ । 

होटल व्यवसायी बाबुराम तामाङ पर्यटक आगमन हुँदा रात परेको थाहै नपाएको र काम गर्न भ्याइनभ्याइ भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हामीलाई भ्याइनभ्याइ भएको छ, पर्यटकको स्वागतमा नै व्यस्त हुँदा खुसी छाएको छ ।” अहिले मनाङका सबैजसो होटल भरिभराउ छन् । दसैँको बिदामा दैनिक रूपमा एक हजार पाँच सय जति पर्यटक मनाङ घुम्न आउने गरेको तामाङले बताउनुभयो । 

बाह्य पर्यटकसँगै आन्तरिक पर्यटकको आगमनले दुई वर्ष कोभिडले थलिएको व्यापारमा उत्साह थपिएको पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “यस वर्ष मनाङ पर्यटकीय स्थल हो भनेर आभास भएको छ, नत्र दुई वर्ष त सिजनमा पनि सुनसान भएको थियो, यस वर्ष आन्तरिक तथा बाह्य दुवै खालका पर्यटकको आगमन बढेको छ ।” विगतमा बाह्य पर्यटकको मात्रै आगमन हुने यस सिजनमा यस वर्ष भने आन्तरिक पर्यटकको पनि उल्लासमय आगमन भइरहेको गुरुङले बताउनुभयो । 

नीलप्रसाद पोखरेल त केबल एक प्रतिनिधि पात्र हुनुहुन्छ । उहाँ जस्ताको समूह दैनिक रूपमा मनाङ पुग्ने गरेको छ । काठमाडौँका कुमार श्रेष्ठको टोली, चितवनका हरि सापकोटाको टोलीले पनि बिदाको समय मिलाएर मनाङ भ्रमण गरिसकेको छ ।