काठमाडौँ, कात्तिक १९ गते । जाजरकोटमा गएको शक्तिशाली भूकम्पपछि राहत तथा उद्धारमा राजनीतिक दलहरूले आफ्ना नेता तथा कार्यकर्ता परिचालन गरेका छन् । संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले भूकम्पपीडितको उद्धार, राहत र पुनस्र्थापनाका लागि ५० लाख रुपियाँ नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कठिन घडीमा नेपाली कांग्रेसका सम्पूर्ण पार्टी निकायलाई भूकम्प प्रभावित क्षेत्रमा सक्रियतापूर्वक उद्धार, राहत र पुनर्निर्माणमा जुट्न निर्देशन दिनुभएको छ ।
शनिबार विज्ञप्ति जारी गर्दै कांग्रेसले विपत्तिको सामना संयम, धैर्य र एकतापूर्वक गर्न सयौँको सङ्ख्यामा उद्धार तथा राहतमा कार्यकर्ता परिचालन गरेको जनाएको छ । केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले कांग्रेसले तिहार र छठसम्मका पार्टीका कार्यक्रम स्थगित गरेको जानकारी दिनुभयो ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले भूकम्पपीडितको उद्धार र घाइतेको उपचारमा पार्टी पङ्क्तिलाई परिचालन गरेको जनाएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले विशेष गरी सुर्खेत, नेपालगन्ज, काठमाडौँका पार्टी कमिटीले उपचार, अस्पतालको व्यवस्थापन र घाइतेका लागि आवश्यक रगत सङ्कलनका लागि कार्यकर्ता परिचालन गरिएको जानकारी दिनुभयो । एमालेले उद्धार र राहतमा संलग्न स्वयम्सेवकलाई त्यससँग सम्बन्धित आवश्यक सूचना र उद्धार राहतमा आवश्यक सामग्रीको व्यवस्थाका लागि सामाजिक सञ्जाललाई प्रयोग गर्ने भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार बिहानै प्रभावित क्षेत्रमा पुग्नुभएको उल्लेख गरेको छ । पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले कर्णाली प्रदेश कमिटी, प्रभावित जिल्लाका समन्वय समितिका नेता कार्यकर्ता खोज, राहत र उद्धारमा केन्द्रित बनेको उल्लेख गर्नुभयो । उहाँले शीघ्र उद्धार, घाइतेको स्वास्थ्य उपचार र उचित राहतका लागि सामाजिक सङ्घ संस्थालाई अनुरोध गरेको जानकारी दिनुभयो । नेकपा (माओवादी केन्द्र) ले पार्टीका शुभकामना आदानप्रदानका कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ ।
एमालेका प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले भूकम्प प्रभावित जिल्लाका नेता कार्यकर्तालाई भूकम्पपीडितको उद्धार कार्यमा जुटेको उल्लेख गर्नुभयो । एमालेले सयौँ सङ्ख्यामा कार्यकर्ता परिचालन गरिसकेको छ । उहाँले सम्बन्धित जिल्ला कमिटी, पालिका कमिटी परिचालित भएर भूकम्प प्रभावित क्षेत्रमा काम गरिरहेको जानकारी दिनुभयो ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले भूकम्प प्रभावितको राहत तथा उद्धारमा लाग्न कार्यकर्तालाई निर्देशन दिएको छ । प्रवक्ता जगन्नाथ खतिवडाले स्थानीय पार्टी कमिटीका नेता कार्यकर्ता उद्धारमा खटिएको उल्लेख गर्नुभयो । खतिवडाले पार्टीले राहत कोष स्थापना गर्ने निर्णय गरेको बताउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूकम्प प्रभावितको राहत तथा उद्धारमा सक्रिय हुँदा कुनै पनि सदस्यले पार्टीको नाम, झन्डा वा कुनै प्रकारको सङ्केत प्रयोग नगर्ने भएको छ । भूकम्प प्रभावितको राहत तथा उद्धारमा राज्यका सम्बन्धित संयन्त्रसँग आवश्यक समन्वय गर्दै सक्रिय रूपमा परिचालित हुने सो पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पार्टीका प्रवक्ता डा. मुकुल ढकालका अनुसार राहत तथा उद्धारका लागि पार्टीका तर्फबाट सांसद सुमना श्रेष्ठलाई व्यवस्थापनको जिम्मवारी दिएको छ । त्यस्तै सांसद डा. तोसिमा कार्की र डा. प्रभात अधिकारीले स्वास्थ्य उद्धार तथा विष्णुकुमार श्रेष्ठले राहत तथा उद्धारको जिम्मेवारी प्रदान गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जाजरकोट भूकम्पबाट प्रभावितको उद्धार, राहत तथा पुनस्र्थापनामा जुट्न कार्यकर्ता परिचालन गरेको जनाएको छ । राप्रपाका पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले स्थानीय तहमा रहेका नेता कार्यकर्तालाई परिचालन गरेको उल्लेख गर्नुभयो । भूकम्प प्रभावित क्षेत्रमा गई उद्धार कार्यमा संलग्न हुन राप्रपाका विभिन्न निकायलाई अनुरोधसमेत गरेको छ ।
विप्लव नेतृत्वको नेकपा कम्युनिस्ट पार्टीले भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि पार्टीका केन्द्रीय उत्पादनबाट २५ क्विन्टल चामल र एक लाख रुपियाँ सहयोग गर्ने जनाएको छ ।