• १० मंसिर २०८१, सोमबार

रुकुम पश्चिममा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो

blog

रुकुम, कात्तिक १८ गते । रुकुम पश्चिममा भूकम्पमा परी अहिलेसम्म ३८ जनाको मृत्यु भएको छ । आठबिसकोट नगरपालिकामा २८ र सानीभेरी गाउँपालिकामा १० गरी ३८ जनाको मृत्यु भएको र ८५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक नमराज भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्ला अस्पताल सल्ले र नगर अस्पताल आठबिसकोटबाट गरेर ३० जना उपचारपछि घर फर्किएका छन् । चालिस जनाको जिल्लामै र गम्भीर घाइते भएका १५ जनालाई थप उपचारका लागि नेपालगन्ज र सुर्खेत पठाइएको प्रहरी प्रमुख भट्टराईले जानकारी दिनुभयो । भूकम्पमा परी बेपत्ताको खोजी जारी रहेकाले थप घाइते र मृत्युको सङ्ख्या बढ्नसक्ने उहाँको भनाइ छ ।

जाजरकोटको रामीडाँडामा शुक्रबार राति ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो । सोही भूकम्पका कारण रुकुमपश्चिममा पनि ठुलो मानवीय क्षतिसँगै भौतिक संरचनामा क्षति पुगेको छ । रासस