• १८ वैशाख २०८१, मङ्गलबार

बेलढुङ्गाबाट देखिएको हिमश्रृङ्खलाको रमणीय दृश्य (फोटो फिचर)

blog

हिमश्रृङ्खलाको अवलोकन गर्न बेलढुङ्गा पुगेका आन्तरिक पर्यटकहरु । तस्बिर ठाकुरप्रसाद आचार्य/साधन घर्ती

ठाकुरप्रसाद आचार्य/साधन घर्ती

म्याग्दी, कात्तिक १६ गते । आँखै अगाडि चाँदी जस्तै टल्किएका हिमालको लहर । वरिपरि रमणीय डाँडापाखा अनि सुन्दर ग्रामीण बस्ती । यो हो बेनी नगरपालिका–३ र बागलुङको काठेखोला गाउँपालिका–३ को सीमा क्षेत्रमा पर्ने बेलङ्गा । मुसुङ गाउँ र ओखलेको धुरीमा बेलढुङ्गा पर्दछ । बेलढुङ्गा सुन्दर पर्यटकीय स्थल हो । यहाँबाट आँखै अगाडि सेता हिमाल र बिहान सूर्योदयको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ ।

मुसुङ गाउँको शिरमा रहेको बेलढुङ्गामा चारैतिर घनाजङ्गल छ । जङ्गलको बिच भागमा चेप्टो बेल आकृतिको विशाल चट्टान छ । चट्टान शिरसम्म पुग्न ढुङ्गा बिछ्याइएको चिटिक्कको दुई सय ६० मिटर लामो पदमार्ग । निर्माण गरिएको छ । यहाँबाट पूर्वी रुकुममा पर्ने चुरेन हिमालदेखि गोरखाको मनास्लु हिमालसम्मका एक दर्जनभन्दा बढी हिमालहरू अवलोकन गर्न सकिन्छ ।


यहाँबाटचुरेन, धौलागिरि, मानापाथी, निलगिरि, अन्नपूर्ण, बराह शिखर, तिलिचो पिक, माछापुच्छ्रे, गङ्गापूर्ण, लमजुङ हिमाल र मनास्लु हिमश्रृङ्खलाको रमणीय दृश्य अवलोकन गर्न सकिन्छ । साथै म्याग्दीका सबै  पालिका, पर्वतको जलजला, कास्की र बागलुङका रमणीय ग्रामीण बस्तीहरू यहाँबाट देख्न सकिन्छ ।

समुन्द्री सतहदेखि दुई हजार ६१४ मिटर उचाइमा बेलढुङ्गा पर्दछ । बेनी नगरपालिका र बागलुङको काठेखोला गाउँपालिकाले बेलढुङ्गालाई पर्यटकीय स्थलका रूपमा विकास गर्न पूर्वाधार निर्माणमा जुटेका छन् । दुवै पालिकाले यहाँ पुग्ने सडक, पदमार्ग र बेलढुङ्गामा भ्यु प्वाइन्ट निर्माण गरेका छन् ।

बेनी नगरपालिकाले बेलढुङ्गालाई पर्यटकीय स्थलका रूपमा विकास गर्ने योजनासहित पूर्वाधार निर्माणमा जुटेको वडा नम्बर ३ का वडाध्यक्ष पदम पुनले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘बेलढुङ्गाबाट धेरै हिमालहरूको लहर देख्न सकिन्छ । पूवी रुकुमको चुरेनदेखि गोरखाको मनास्लुसम्मका हिमालहरूको लहर एकै ठाउँबाट अवलोकन गर्न सकिने सुन्दर ठाउँ छ । यहाँको पर्यटन प्रवर्द्धन गरेर आन्तरिक र पर्यटक भित्र्याउने हाम्रो लक्ष्य छ ।’’


बेलढुङ्गालाई पर्यटकीय स्थलका रूपमा विकास गर्ने पहिलो कामको थालनी वडा नम्बर ३ भकिम्लीवासीहरुले गरेको उहाँले बताउनुभयो । स्थानीय सरकार आएपछि वडाको तर्फबाट पहिलोपटक पूर्वाधार निर्माण सुरु गरेपछि बागलुङतर्फबाट पनि यहाँको विकासमा लगानी हुन थालेको उहाँको भनाइ छ ।  उहाँका अनुसार बागलुङतर्फको ओखले गाउँमा सामुदायिक घरबास छ । यता भकिम्लीको मुसुङ गाउँमा पनि होमस्टे बनाउने योजना रहेको वडाध्यक्ष पुनले बताउनुभयो ।   

पछिल्लो समय  बेनी र बागलुङ तर्फबाट आन्तरिक पर्यटकहरू आउन थालेको मुसुङका स्थानीयवासी पृथीप्रसाद पुनले बताउनुभयो । बेलढुङ्गालाई पर्यटकीय स्थलका रूपमा विकास गर्न दुवै पालिकाले थप पर्यटन पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ ।