धर्बेन्द्र झा
जनकपुरधाम, कात्तिक १४ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाममा कात्तिक २२ गतेबाट सुरु हुने अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनको तयारी पूरा भएको छ ।
सम्मेलनबारेमा जानकारी दिने उद्देश्यले मंगलबार जनकपुरधामको जानकी मन्दिरमा पत्रकार सम्मेलन आयोजना गरिएको छ । अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनमा विश्वका २५ राष्ट्रका आयुर्वेदका विज्ञ, चिकित्सकको सहभागिता रहने आयोजकले जानाएको छ ।
जनकपुरधामको ऐतिहासिक तिरहुतियागाछीमा रहेको महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा आयोजना हुने सो सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नुहुने सम्मेलन आयोजक संस्थाका संयोजक डा. राकेशकुमार सिंहले जानकारी दिनुभयो ।
ब्रह्मभूमि रिसर्च सेन्टर नेपाल, नेपाल आरोग्य सङ्गठन तथा ब्रह्मभूमि आर्युविज्ञान अनुसन्धान संस्थानको आयोजनामा हुने अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनमा अमेरिका, रुस, जापान, रसिया, युक्रेन, इजरायल, भारत, भुटान, बङ्गलादेश, श्रीलङ्का, अष्ट्रेलिया, जर्मनीसहितका अधिकांश युरोपेली राष्ट्रहरूको सहभागिता रहने आयोजक एवं सम्मेलनका संयोजक डा. सिंहले जानकारी दिनुभयो ।
माता जानकीको हजुरबुबा निमी आयुर्वेदका आँखा, कान र घाँटीका विशेषज्ञ भएको कारणले आयुर्वेदमा निमीतन्त्रको ठुलो महत्त्व भएको कारणले जनकपुरधाममा अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेको बताउँदै तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनमा आयुर्वेदका विषयमा विभिन्न कार्यपत्रहरू प्रस्तुत गरिने छ ।
कार्यक्रममा आयुर्वेदको वर्तमान अवस्था, भावी रणनीति, नेपालको जडीबुटी, वन, खनिज तथा वन्यजन्तुसहितका विषयमा छलफलका साथै सम्भाव्यताका विषयमा बृहत् छलफल र परामर्श हुने जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले जानकारी दिनुभयो ।
सम्मेलनले जनकपुरधामको धार्मिक तथा आध्यात्मिक पर्यटन प्रवर्द्धनमा ठुलो मद्दत पुग्ने विश्वास उत्तराधिकारी महन्थ दासको रहेको छ । पत्रकार सम्मेलनमा मनरा शिशवा नगरपालिकाका नगरप्रमुख मोहन पाण्डे पनि सहभागी रहनुभएको थियो । अन्तर्राष्ट्रिय सम्मेलनमा जनकपुरधाम उपमहानगरपालिकाको सहयोग पनि रहेको आयोजकले जनाएको छ ।