• १३ मंसिर २०८१, बिहिबार

भोलिदेखि जिरी च्याम्पियनसिप हुने

blog

दोलखाको जिरी बजार ।

सुजन काफ्ले

चरीकोट, कात्तिक १४ गते । दोलखाको जिरीमा भोलिदेखि जिरी च्याम्पियनसिप सुरु हुनेभएको छ । युवा सञ्जाल जिरीको आयोजनामा जिरी च्याम्पियनसिप २०८० हुने  भएको हो ।

दोलखाको पर्यटकीय नगरी जिरीस्थित लिङ्कन बजारमा खेलकुद महोत्सवकै रूपमा च्याम्पियनसिपको आयोजना गर्न लागिएको युवा सञ्जाल जिरीले जनाएको छ । 

जिरी नगरपालिकासँगको सहकार्यमा आयोजना गरिएको च्याम्पियनसिपमा सर्वाधिक पुरस्कार राशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता, जिरी भ्याली माउण्टेन सर्किट अल्ट्रा म्याराथन, स्लो बाइक रेस लगायतका विभिन्न खेलहरू सञ्चालन हुनेछन् । 

भलिबल खेलतर्फ प्रथम पुरस्कार राशि नगद १ लाख ५१ हजार रुपियाँ रहेको छ भने द्वितीय १ लाख १ हजार, तृतीय ५१ हजार र सान्त्वना पुरस्कार राशि २५ हजार रुपियाँ रहेको छ । 

त्यस्तै, अल्ट्रा म्याराथनतर्फ प्रथम, द्वितीय र तृतीय पुरस्कार राशि क्रमशः १० हजार, ७ हजार र ५ हजार रहेको छ । स्लो बाइक रेसतर्फ प्रथम पुरस्कार ७ हजार, द्वितीय पुरस्कार ५ हजार र तृतीय पुरस्कार ३ हजार नगद रहेको छ । खेलकुदको माध्यमबाट जिरीको पर्यटन प्रवर्धनमा सहयोग गर्ने उद्देश्यले आयोजना हुन लागेको जिरी च्याम्पियनसिपको तयारी अन्तिम चरणमा पुगेको सञ्जालका अध्यक्ष जगदीश खड्काले जानकारी दिनुभयो । 

कुल खर्च १६ लाख ५३ हजार हुने प्रारम्भिक अनुमान गरिएको प्रतियोगिताको उद्घाटन जिरी च्याम्पियनसिपको बागमती प्रदेश सभाका सदस्य कुन्दनराज काफ्लेले गर्नुहुने आयोजकले जनाएको छ ।