• ११ मंसिर २०८१, मङ्गलबार

रामपुरमा पौराणिक लोकसंस्कृति ‘बालन’ संरक्षण गर्न युवा पिँढीलाई आग्रह

blog

फाइल तस्बिर

रामपुर (ओखलढुङ्गा), कात्तिक १३ गते । ओखलढुङ्गा रामपुर निवासी अठहत्तर वर्षीय गणेश काफ्ले पुर्खाले जारी राखेको पौराणिक लोकसंस्कृति ‘बालन’ मासिने हो कि भनेर चिन्तित हुनुहुन्छ । समवयी उद्धव दाहाल ‘कटहरे माइला’ पनि लोकसंस्कार संरक्षण र प्रवद्र्धनप्रति युवा पुस्ताको वितृष्णा देखेर उत्तिकै चिन्तित हुनुहुन्छ ।

उहाँहरु नयाँ प्रविधि र यसले दिएको क्षणिक आनन्दमा युवा तथा केटाकेटीहरु भुलिएकाले बालन पूर्णरुपमा मासिन सक्ने तर्क गर्दै युवा पिँढीलाई सचेत गराउनुहुन्छ । तर, उचित प्रतिक्रिया नपाउँदा भने नरमाइलो लागेको बताउनुहुन्छ । युवा अवस्थामा सक्रिय बालन खेलाडी कटहरे माइला सुनाउनुहुन्छ, “म उनान्असी वर्षको भएँ । त्यसैले अब बालन खेल्न सक्दिन, तर युवाले खेल्ने जाँगर चलाए अझै पनि दुई घण्टासम्म दर्शनार्थी चाहिँ हुनसक्छु ।” अहिलेको पिँढीले बालनप्रति कम चासो राखेको कुरा उहाँलाई फिटिक्कै चित्त बुझेको छैन ।

“प्रायः धर्मकार्यमा आयोजना गरिने बालन एक किसिमको पौराणिक कहानी हो । यो सीता भारत हो । राम सीताको बयान भएको यस कहानीलाई धार्मिक नाटक पनि भनिन्छ । पहिले पहिले सयौँ मानिस भेला भएर बालन हेर्थे । अब यो चलन निक्कै पातलियो, जुन राम्रो होइन”, काफ्लेले सुनाउनुभयो ।

सोही उमेर समूहका अर्का बालन खेलाडी पद्मप्रसाद दाहाल थप्नुहुन्छ, “आजभोलिका बालन खेलाडीको सीप कमजोर छ । बालन खेलाडीले सीता भारत कन्ठस्थ पार्नुपर्छ । छरितो शरीरसहित फूर्तिलो प्रस्तुति दिन सक्नुपर्छ । बोल्ने कुरा हाउभाउमा देखिनै पर्छ । पहिले जस्तो बालन आयोजना नभएको मात्र होइन, अहिलेका खेलाडी व्यावशायिक बन्न खोज्दा पनि यो संस्कृति ओझेल पर्दै गएका छ ।” रामपुर गाउँमा उहाँहरु बालन खेलको दोस्रो पुस्ता हुनुहुन्छ ।

त्यसै गरी, आफूले बालन खेलको तेस्रो पुस्ता प्रतिनिधित्व गर्ने बताउँदै जालन्धर काफ्ले भन्नहुन्छ, “हाम्रो पुस्तापछि अब बालन खेलाडी पाइन्न । यति राम्रो गीतिनाटक गाउँबाट हरायो भने हाम्रो पहिचानमै धक्का लाग्न सक्छ । त्यसैले यसलाई जोगाउनुपर्छ ।” लोक संस्कृतिप्रति युवाको वितृष्णाको कुरा गर्दा जालन्धारको तर्क छ-पूर्वीय दर्शन र संस्कार नै क्रमिकरुपमा पाश्चात्य क्रियाकलापको असर परेको छ । सूचना प्रविधिको विकास र विस्तारले गाउँमा यसको प्रभाव सामान्य भइसक्यो ।

बालन खेल आयोजना गाउँमा निक्कै कम भएको स्वीकार्दै दोस्रो र तेस्रो पुस्ता दुवैसँग बालन खेलेका देवीप्रसाद दाहाल पनि बालन समाजको अभिन्न अङ्ग भएकाले यसको अनिवार्य संरक्षण र प्रवद्र्धन गर्नुपर्ने बताउनुहुन्छ । उहाँका अनुसार, रामपुर गाउँमा बालन खेलको पहिलो पुस्तामा रामचन्द्र दाहाल ‘बाइसे बुढा’, पुण्यप्रसाद दाहाल, पद्मलाल दाहाल, मोदनाथ दाहाल, प्रभुनाथ दाहाल ‘लामिडाडे’, द्धारिका पौडेल ‘पाहुना बुढा’ हुन् ।

“आजभन्दा १० वर्ष अगाडिसम्म बालन नियमित नै हुन्थ्यो । अन्तिम पटक मैले पाँच वर्ष अघि बालन खेलेको थिएँ । अहिले आयोजना अलि खर्चिलो भएका कारण पनि बालन कम भएको हो । पूर्णरुपमा लोप भइसकेको चाहिँ होइन”, उहाँको भनाइ छ ।

हुन त रामपुरमा बालन खेलाडी र खेलप्रेमी नभएको होइन । गणेश काफ्लेका अनुसार गाउँमा दुई समूह बालन खेलाडी प्रशिक्षित भएका छन् । त्यसैगरी चार वर्षअघि मोलुङ गाउँपालिकाले आयोजना गरेको प्रतिस्पर्धात्मक बालन कार्यक्रममा रामपुरको बालन समूह प्रथम भई पुरस्कारसमेत हात पारेको थियो । जलजलेमा आयोजित यो प्रतियोगिता राति नभई दिउँसो केबल दुई-तीन घण्टा भएको थियो ।

शिक्षक लालमणि घिमिरेका अनुसार धर्म र पौराणिक गाथामा आधारित भएकाले पहिले यो प्रस्तुति हेर्न सयौँ मानिस भेला हुन्थे । आयोजकको घरबाहेक शिव मन्दिरमा पनि बालन खेलिन्थ्यो । “अघिल्लो पुस्ताले सिकाउँछौँभन्दा पनि अहिलेका पुस्ताले बालनप्रति चासो राखेनन् । पहिले स्वयंसेवी हिसाबले बालन खेले पनि अब यो आयोजकलाई खर्चिलो भएको छ ।” तर जालन्धर काफ्ले भने बालन आयोजकलाई बालन खेलाडीका लागि यति रकम दिनुपर्छ भनेर कसैले नभनेको बताउनुहुन्छ । 

आयोजकले स्वेच्छाले दिएको पारिश्रमिक नै ग्रहण गर्छन् बालन खेलाडीहरु । उता, उद्धवप्रसाद दाहाल भन्नुहुन्छ, “पैसामुखी भइयो भने पुर्खाको यो चिनो, हाम्रो संस्कृति रहन्न । यसलाई जोगाउन सामाजिक र स्वयंसेवी भावना चाहिन्छ ।”

के हो बालन ?

प्रायः एकाहा तथा सप्ताह पुराण, जन्मोत्सव, सत्यनारायण पूजा सम्पन्न भएको रात यस्ता महोत्सव आयोजकका घरमा खेलिने गीतिनाटक नै बालन हो । यो कम्तीमा सात जना पुरुषको समूहले खेल्ने नाटक हो । यो राम-सीता कहानी हो । त्यसैले यसमा रामायणका धेरै कथा समावेश हुन्छन् । धर्मकार्य समापनको रात जाग्राम बस्ने मानिसलाई मनोरञ्जन दिनु पनि यसको उद्देश्य हो । यो बेलुका सुरु गरेर बिहानसम्म अविरल चल्छ । एक जनाले भट्याउने र अरु जोडीले त्यसैलाई दोहोर्याइ भनेर हाउभाउसहित नाटकीय प्रस्तुति दिइन्छ ।  

“सीता भारत बेलुका ६ बजे सुरु भएर बिहान ६ बजेसम्म अहर्निश चल्छ । गीतको भाकामा हामी सँगसँगै नाच्दै गाउँदै गर्छौ । यसमा देवता भाक्ने चलन पनि छ ।” जालन्धर भन्नुहुन्छ । यस्तो प्रतिज्ञा गरेर हामी बालन सुरु गर्छौं,

‘जागुरे दीप है बलो रे बत्ती, तिमी र हामी छौँ साथी ।

नाँची काटौँ है खेली बिताउँला सकलो यो निजी रात ।।’ 

उहाँहरुका अनुसार, कतिपयले बालनलाई रामायण, श्रीमद्भागवत्, देवीभागवतको छोटकरी रुप मान्छन् । थुप्रै बालनमध्ये दुई सय श्लोकसहितको छोटो चाहिँ सीता भारत हो । रामपुर र यस वरिपरि गाउँमा यही सीता भारत बालन नै प्रचलनमा छ । यो लामो लय हालेर भट्याइन्छ र खेलिन्छ । समाचार सङ्कलनका क्रममा एकैसाथ भेटिनुभएका देवीप्रसाद दाहाल र जालन्धर काफ्ले लामो लय हाल्दै बालनको श्लोक सुनाउँनुहुन्छ, 

‘ए ओइ ॐ श्री राम, जपम् भाइ हो ॐ श्री राम ।

ए ॐ श्री राम है ॐ श्री राम, जपम् भाइ हो श्री रामको नाम ।।’

बृद्ध हुन् या युवा, पौराणिक लोकसंकृतिको संरक्षण एक्लो व्यक्तिको प्रयासमा सम्भव छैन । त्यसमा पनि बालन समूहमै खेलिन्छ । मनोरञ्जनको अर्को नाम आधुनिक सूचना प्रविधि भएका बेला विशेष गरी युवा र आउँदा पुस्ताले यसको संरक्षण कसरी गर्ने हुन् हेर्न बाँकी छ । रासस