• १२ साउन २०८१, शनिबार

चर्खे र लिङ्गे पिङले थप्यो गाउँमा दसैंको रौनकता (फोटो फिचर)

blog

दसैंका लागि गाउँमा राखिएको चर्खे र लिङ्गे पिङ । तस्बिर: रेखीराम राना

रेखीराम राना

पाल्पा, कात्तिक ५ गते । गाउँमा राखिएको लिङ्गे र चर्खे पिङले दसैंमा रौनकता थपेको छ । जिल्लाको विभिन्न स्थानमा राखिएका लिङ्गे र चर्खे पिङले रौनकता बढाएको स्थानीय बासिन्दाले बताएका छन् । 

स्थानीय युवा, महिला, विद्यार्थीले राखेका लिङ्गे र चर्खे पिङ्मा दसैं मनाउन अहिले सहरबाट गाउँमा आएका मानिसहरू झुम्मिएका छन् । सहरबाट गाउँमा आएका मानिस पिङ्मा चढेर मनोरञ्जन लिने गरेको माथागढी–४, झडेवाका वडाअध्यक्ष शंकर दर्लामीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘गाउँघरमा राखिएका लिङ्गे र चर्खे पिङ्मा चढ्न युवायुवती, किशोर–किशोरले सबैभन्दा बढी रमाइलो मान्ने गरेका छन् ।’ 

पिङले गाउँमा मानिस तथा आफन्तलाई भेटघाट गर्न सहयोग समेत गरेको उहाँले बताउनुभयो । पिङ खेल्न भनेर आएका साथीभाइ तथा आफन्तको भेटघाट समेत पिङ खेल्ने स्थानमा भेटघाट भइरहेको उहाँले बताउनुभयो । 

पाल्पामा सदरमुकाम तानसेन, माथागढीको सराई, झडेवा, ताहुँ, पूर्वखोला, फोक्सिङ्कोटलगायतका स्थानमा चर्खे र लिङ्गे पिङ राख्ने क्रम बढेको छ । पिङ्ले बालबालिका, किशोरकिशोरी, युवायुवती तथा जेष्ठ नागरिकलाई आकर्षित गरेको माथागढी–३, कसेनीका स्थानीय बासिन्दा खेमानसिंह रानाले बताउनुभयो ।