• १२ मंसिर २०८१, बुधबार

उपचार नपाएर नागरिक मर्नुपर्दैनः स्वास्थ्यमन्त्री बस्नेत

blog

नवनिर्मित प्रसुती तथा स्त्रीरोग भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत । तस्बिर : रमेश पौडेल

रमेश पौडेल
पोखरा, कात्तिक ३ गते ।
स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले पैसाको अभावमा उपचार नपाएर कुनै पनि नेपाली नागरिकले ज्यान गुमाउनु परेमा त्यसको जिम्मेवारी सरकारले लिने बताउनुभयो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको नवनिर्मित प्रसुती तथा स्त्रीरोग भवनको शुक्रबार पोखरामा उद्घाटन गर्नुहँुदै मन्त्री बस्नेतले सो कुरा बताउनुभएको हो । दुई सय शय्या रहेको सो भवनको लागत २७ करोड रहेको छ ।

मन्त्री बस्नेतले नागरिकले आधारभूत स्वास्थ्य सेवा पाउनु नागरिकको नैसर्गिक अधिकार भएकाले गरिब, विपन्न, अशक्त, असहायहरुलाई तत्कालै सहज तवरबाट सरकारले निःशुल्क उपचार थालेको बताउनुभयो । उहाँले सात प्रदेशमध्ये बागमती, मधेश, गण्डकी र लुम्बिनीमा निःशुल्क सेवा सुरु गरेको समेत जानकारी दिनुभयो ।

उहाँले अहिले पनि २९ हजार नर्सिङ र तीन हजार चिकित्सकको दरबन्दी आवश्यक रहेको भन्दै त्यसलाई परिपूर्ति गर्न मन्त्रालय लागेको बताउनुभयो । मन्त्री बस्नेतले स्वास्थ्य सेवा ऐन संशोधन नगरी नहुने भएकाले संशोधन गरी मेडिकल शिक्षालाई सहज बनाई विदेश जाने जनशक्तिलाई स्वदेशमा नै प्रोत्साहित गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘मेडिकल शिक्षामा विद्यार्थी सङ्ख्या बढाउनुपर्छ । ८२ प्रतिशत ल्याउने एकजना नानीले नर्सिङ पढ्न पाउँदिनन् भने कसरी विदेश जानबाट रोक्न सकिन्छ ? त्यसैले पढ्न चाहानेले सहज रुपमा पढ्न पाउनुपर्छ ।’’ शुल्क र गुणस्तरमा भने सम्झौता गर्न नहुने उहाँको भनाइ थियो । मन्त्री बस्नेतले नेपाललाई मेडिकल हब बनाउनुपर्छ । देश र जनताको हितका पक्षमा कुनैपनि ऐन बनाउँदा र निर्णय गर्दा राज्य काम्न हँुदैन् भन्ने धारणा राख्नुभयो ।

प्रतिष्ठानका डिन डा. श्रीकृष्ण श्रेष्ठ, निर्देशक डा. भरत खत्रीलगायतले राख्नुभएको मागप्रति मन्त्री बस्नेतले तत्काल मन्त्रालयमा निर्देशन दिँदै पश्चिमाञ्चल हस्पिटललाई तत्काल सात वटा डायलसिस मेसिन आजनै उपलब्ध गराउन आदेश गर्नुभयो भने बिमा बापतको अस्पतालले पाउनुपर्ने २७ करोडको रकम दसैं पश्चात उपलब्ध गराउन अर्थमन्त्री डा. प्रकाशशरण महतसँग आग्रह गर्दा सो रकम दशैपछि पठाउने प्रतिबद्धता भएको जनाउनुभयो । 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. डुकबहादुर थापाले हाल पाँच सय शय्याका साथ सञ्चालनमा रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउनुका अतिरिक्त स्वास्थ्य विज्ञानको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य राखी २०७२ सालदेखि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा सञ्चालनमा रहेको जानकारी गराउनुभयो । यस प्रतिष्ठानमा सुरुको वर्ष स्नाकोत्तर तहको एम.डि.एम.एस कार्यक्रमका लागि विभिन्न नौ विधामा ८९ जना विद्यार्थी भर्ना भई अध्ययन अध्यापन कार्य सुचारु भइरहेको र नर्सिङतर्फ ४० सिटमा पढाइ सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।

यस प्रतिष्ठानमा हाल एम.आर.आई, सिटी स्क्यान, क्याथ ल्याव, इ.आर.सि.पि लगायत महत्त्वपूर्ण सेवा उपलब्ध गराउँदै आएको उपकुलपति डा. थापाले बताउनुभयो । प्रतिष्ठानबाट गत वर्षदेखि नै हालसम्म आठ जनाको मृगौला प्रत्यारोपण कार्य सफलतापूर्वक सम्पन्न भएको उहाँको भनाइ थियो ।

पुनर्निर्माण प्राधिकरणको ३५ करोडको लागतमा मेडिकल भवन निर्माणको चरणमा रहेको बताउँदै अस्पतालको सेवा विस्तार गर्न पोखरा महानगरपालिका वडा नं १ मा रहेको करिब ६२ रोपनी जग्गालाई प्रतिष्ठानको नाममा ल्याई मुटुरोग अस्पताल निर्माणका लागि गण्डकी प्रदेश सरकारको पहलमा डिपिआर समेत तयार भएको सो कार्यक्रममा डा.थापाले जानकारी दिनुभयो ।

नेपाल सरकारको सातै प्रदेशमा सरकारीस्तरबाट मेडिकल कलेज सञ्चालन गर्ने योजनाअनुरुप प्रतिष्ठानबाट एमबिबिएस कार्यक्रम सञ्चालन गर्ने योजना रहेको सूचना अधिकृत सुमन भट्टराईले बताउनु्भयो ।

सोही अवसरमा स्वास्थ्यमन्त्री बस्नेतले पोखरा स्वास्थ्य प्रतिष्ठान परिसरको अवलोकनसमेत गर्नुभएको थियो ।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयद्वारा आयोजित अन्तरक्रियामा समेत स्वास्थ्यमन्त्री बस्नेतले ११ जिल्लाको स्वास्थ्य क्षेत्रमा भएको भौतिक एवम् स्वाथ्यका बारेमा जानकारी लिनुभयो । कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री शुसीला सिंखडा, सचिव विनोदविन्दु तिमिल्सिनाले स्वास्थ्य क्षेत्रमा भएका प्रगतिका बारेमा जानकारी गराउनुभएको थियो ।