• २४ असार २०८१, सोमबार

नवलपुरमा व्यापार व्यवसायी पलायन बढ्दो

blog

नवलपुरको कावासोतीमा बन्द भएको होटल । तस्बिर मीना कँडेल ।

मीना कँडेल

कावासोती, कार्तिक १ गते । नवलपुरमा आर्थिक मन्दीका कारण यतिबेला सफल व्यवसायी पनि विस्थापित तथा पलायन हुने अवस्था बढ्दो रहेको छ । कावासोती नगरपालिका-८ का होटेल व्यवसायी होमनाथ पन्थी १२ वर्ष विदेश बसेर नेपाल फर्किनुभएका उहाँले स्वदेशमै उद्यम गर्ने सोचले होटेल सञ्चालन गर्नुभएको थियो तर अहिले अवस्था सोचेजस्तो भएन। “रु २४ लाखबाट सुरु गरेको व्यवसायमा अहिले लगानी उठाउन पनि मुस्किल परेको छ”,व्यवसायी पन्थीले भन्नुभयो,“ कोरोनाकहरबाट खस्केको व्यवसाय उठ्न मुस्किल परेको छ । ” 

उहाँले भन्नुभयो “ होटल फुलमुनमा कुनै समय राम्रो व्यापारका लागि कुनै चाडपर्वको पर्खाइमा बस्नु पर्दैनथ्यो । अहिले ११ महिनादेखि घरभाडा र्तिर्न नसकेपछि धरौटीमा राखेको चार लाख पनि फिर्ता पाउन सकेको छैन । तर पछिल्लो समय ग्राहक नहुँदा होटल पूर्ण रूपमा बन्द भएको छ । ”हरेक दिन बढ्ने महँगीले पनि थप समस्या निपत्याएको छ ।

कावासोती ३ का  होटल व्यवसायी स्याम बस्यालको गुनासो पनि उस्तै छ । १० वर्ष देखि होटल व्यवसाय गरेको भएपनि विविध कारणले होटल बन्द भएको बताउनु हुन्छ  । “धुलोका कारण मोटरमा हिँड्ने पर्यटक जहाजमा हिँड्न थालेका छन् । कमाउने र रमाउने युवा विदेशमा छन् । अनि हाम्रो होटेल कसरी चल्छ । हामीजस्तो मारमा अहिले कोही छैन होला”, बस्यालले भन्नुभयो । कुनै समय ग्राहकले भरिभराउ देखिने राजमार्ग आसपासका होटल पछिल्लो समय शून्यजस्तै देखिएका छन् । जिल्ला सदरमुकाम समेत रहेको कावासोती बजार क्षेत्रमा लाखौँ लगानीमा खुलेका होटल धमाधम बन्द हुने क्रम बढेको उहाँको गुनासो थियो ।

मध्यविन्दु नगरपालिका–८ चोरमारा बजारमा सुवास ज्ञवालीले होटेल सञ्चालन गर्न थालेको १७ वर्षभन्दा बढी भयो । पूर्व–पश्चिम राजमार्ग छेउमा रहेको उहाँको होटेलमा कुनै समय गाह्रकलाई खाना, खाना दिन फुर्सदै हुदैन थियो तर अहिले ग्राहक कुर्नुपर्ने अवस्था छ । “विगतमा दिनमै रु ७०/८० हजार सम्मको व्यापार हुन्थ्यो तर अहिले रु १२–१५ हजारसम्मको कारोबार हुन पनि गाह्रो भएको छ ।

नवलपुरमा धेरै पर्यटकीयस्थल तथा भौगोलिक विविधता भए पनि सडकका कारण पर्यटक आउन छाडेका छन् । जिल्लामा होटेल व्यवसायी पलायन हुने क्रम बढेका नवलपुर होटेल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष सन्तोष रानाले बताउनुभयो । कावासोती नगरपालिका–८ मा होटेल नयाँ थाली सञ्चालन गर्नु भएका नवलपुर होटेल व्यवसायी सङ्घका उपाध्यक्ष यमप्रसाद न्यौपानले आर्थिक वर्ष २०७८/७९ मा भन्दा २०७९/८० मा ४५ प्रतिशत व्यापार घटेको गुनासो गर्नुभयो ।

कोरोना महामारी, अन्तर्राष्ट्रिय प्रभाव, बैङ्किङ क्षेत्रमा देखिएको तरलता अभाव, आर्थिक शिथिलता, कारोबारमा आएको मन्दीलगायत कारण देशले समस्या भोगिरहेको छ । नवलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष वैकुण्ठ अर्यालका अनुसार विलासिताका वस्तुको व्यापार गर्नेहरू मात्र नभई दैनिक उपभोग्य सामान बेच्ने पनि समस्यामा पर्नु गम्भीर चिन्ताको विषय भएको बताउनुहुन्छ । नवलपुरको बजार क्षेत्रमा व्यापार व्यवसाय निरन्तर ओरालो लागेपछि नवलपुरबाट २५ प्रतिशत व्यवसायी विस्थापित हुने अवस्था रहेको बताउनुभयो ।