काठमाडौं, कात्तिक १ गते । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११ औं महाधिवेशनमा प्यानलसहित अध्यक्षमा उम्मेदवारी दिएका उपाध्यक्ष महेशकुमार श्रेष्ठले तीन महिनाभित्र सङ्घलाई भावनात्मक र साङ्गठनिक रुपमा एकताबद्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
काठमाडौंमा पत्रकार सम्मेलन गरी अध्यक्षका उम्मेदवार श्रेष्ठले १० औं महाधिवेशनका दौरान गैरआवासीय नेपाली सङ्घमा देखिएको विवाद समाधान गरी दुवै धारलाई एकताबद्ध बनाउने बताउनुभएको हो ।
श्रेष्ठले विश्वभरका गैरआवासीय नेपालीलाई मिलाउने लक्ष्यका साथ निर्वाचनमा होमिएको बताउनुभयो । ‘‘१० औं महाधिवेशनपछि संस्था विभाजित अवस्थामा छ । केही साथीहरू असन्तुष्ट भएर बेग्लै अधिवेशन पनि गर्नुभयो । तर म तीन महिनाभित्र असन्तुष्ट साथीलाई एकताबद्ध गराएर इतिहास बनाउन चाहन्छु,’’ उहाँ भन्नुभयो ।
श्रेष्ठले यसअघि पनि एनआरएनएलाई पटक–पटक वैधानिक रुपमै विभाजित गर्ने प्रयासलाई आफूले रोकेको बताउँदै दुई वर्षभित्र परिणाममुखी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले असन्तुष्ट समूहका अभियन्तासँग निरन्तर संवाद भइरहेको पनि जानकारी दिनुभयो । ‘‘म विजयी भएर शपथ गरेको दिनदेखि एक्सनमा काम गर्नेछु, सङ्घमा रहेका सबै पदाधिकारीलाई जिम्मेवारी छुट्याएर परिणाम दिलाउनेछु,’’ उहाँले भन्नुभयो ।
अध्यक्षको उम्मेदवार श्रेष्ठले नेपालको समुन्नतिका लागि लगानी भित्र्याउने सवालमा र एनआरएनएलाई बलियो बनाउनका लागि पाँच बुँदे एजेन्डा अघि सारेको बताउनुभयो । उहाँले सरकारसँग सहकार्य गरेर नेपालमा लगानी भित्र्याउन पहल गर्ने अठोट व्यक्त गर्नुभयो ।
विदेशमा रहेका नेपाली श्रमिक, लगानीकर्ता साथै सम्पूर्ण गैर आवासीय नेपालीहरुलाई धेरै नीतिगत र कानूनी समस्याहरु रहेकाले त्यसलाई सुल्झाउन कटिबद्ध रहेको जनाए । श्रेष्ठले आफूलाई समर्थन गर्ने उम्मेदवार समावेशी भएको दाबी गरे ।
महासचिव पदका उम्मेदवार बुद्धिसागर सुवेदीले एनआरएनएलाई एकतावद्ध, परिणाममुखी र पारदर्शी रुपले अघि बढाउन अध्यक्षका उम्मेदवार श्रेष्ठको टिमलाई सहयोग गर्न आग्रह गर्नुभयो ।
पत्रकार सम्मेलनमा उपाध्यक्षका उम्मेदवारहरू डा. केशव पौडेल, सुनिल साह, राजु रेग्मी राज, नारायण आचार्य, रोविन शेरचन, रोजिना प्रधान राई, गङ्गाधर गौतमसहित एआरएनए अभियन्ताहरूले एनआरएनएमा समग्र रुपान्तरणको पक्षमा काम गर्न ‘टिम महेश’ले जित्नुपर्ने बताउनुभयने ।
त्यसैगरी, उपमहासचिव पदका उम्मेदवार सोम सापकोटा, प्रविन गुरुङ, सचिव पदका उम्मेदवार दयानिधि सापकोटा, मनोज श्रेष्ठ गोर्खाली, भीम केसी कमल, कृष्णजीवी पन्त, स्वतन्त्रप्रताप शाह, केपी सिटौला, विमला सापकोटालगायतले नवीन रुपान्तरणको पक्षमा आफ्नो टिम रहेको बताउनुभयो ।
कोषाध्यक्षका उम्मेदवार ठाकुर ढुङ्गाना, सहकोषाध्यक्षका उम्मेदवार तिलक गैरे, कृष्ण तिमल्सिना, मोहम्मद मुक्तदा मुसलमानले ‘टिम महेश’लाई जिताउने प्रतिबद्धता जनाउनुभयो ।
सहकोषाध्यक्षका उम्मेदवार तृष्णा शर्मा काफ्ले, युवा संयोजकका उम्मेदवार रविन अधिकारी, महिला संयोजकका उम्मेदवार अनुजा प्रधान, युरोप संयोजक चिन्तामणि सापकोटालगायतका उम्मेदवार र निर्विरोध निर्वाचित भइसकेका पदाधिकारीले पनि टिम महेशलाई समर्थन गर्दै विजयीको शुभकामना व्यक्त गर्नुभयो ।
राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार उद्घाटन गरेको महाधिवेशन कात्तिक ३ गतेसम्म चल्नेछ । बिहीबार मतदान गर्ने निर्वाचन तालिका छ । अनलाइन र भौतिक उपस्थितिमा मतदानको व्यवस्था गरिएको अध्यक्ष कुल आचार्यले बताउनुभयो । महाधिवेशनमा चार हजार २२७ मतदाता छन् । अध्यक्ष पदमा श्रेष्ठसँगै वर्तमान अध्यक्षद्वय रविना थापा र बद्री केसी तथा उपाध्यक्ष राजेन्द्रकुमार शर्माको उम्मेदवारी परेको छ ।