• १६ वैशाख २०८१, आइतबार

दुई वर्षमा सक्नुपर्ने पुल छ वर्षदेखि अलपत्र, तीन पटक म्याद थप

blog

छ वर्ष देखि अलपत्र अवस्थामा सल्ली खोलाको पक्की पुल । तस्बिर : राजन रावत, हुम्ला

हुम्ला, असोज २७ गते । कर्णाली कोरिडोर अन्तर्गतको सिमकोट हिल्सा सडकमा पर्ने नाम्खा गाउँपालिका–२ र ४ को सिमानामा पर्ने सल्ली खोलको पक्की पुल छ वर्ष विते पनि निर्माण सम्पन्न हुन सकेको छैन । 

ठेकेदारले पेस्की रकम लिएर सम्पर्क विहीन हुँदा आजसम्म पनि पुल निर्माण अलपत्र अवस्थामा रहेको हो । यता नियमनको जिम्मा रहेको हिल्सा सिमकोट सडक आयोजनाले समेत निर्माणलाई ताकेता नगरेका कारण सयौँ स्थानीयले सास्ती खेप्नु परेको स्थानीयको आरोप छ । छ वर्ष बित्दा समेत निर्माण हुन नसक्नुमा आयोजनाका इन्जिनियर र प्रमुखलाई ठेकेदारले प्रलोभनमा पारेर बेवास्ता हुने गरेको र निर्माणमा ढिलाइ भएको स्थानीयहरू बत्ताउँछन् । 

यता निर्माण जिम्मा लिएको स्वछन्द कङ्ग्री जेभी कम्पनीले भने ८० प्रतिशत निर्माण कार्य पुरा भएको जनाएको छ । आयोजनाका प्रमुख वीरेन्द्र चन्दले सल्ली खोलाको पक्की पुल निर्माणका लागि निर्माण कम्पनीले सम्झौता भएको म्याद सकिए पनि तत्काल काम सम्पन्न गर्न ताकेता गर्दै आएको बताउनुभयो । आयोजनाले २०७४ साल साउन १६ गते पुल निर्माणका लागि सम्झौता गरेको थियो । जुन दुई वर्षमा सम्पन्न गरी सक्नु पर्ने सम्झौतामा उल्लेख गरिएको थियो । 

निर्धारित समयमा पुल निर्माण कार्य सम्पन्न नभएपछि योजना प्रमुख चन्दले २०७६ साल साउन १६ गते पहिलो पटक म्याद थप गरिएको र फेरी काम नगरेका कारण २०७८ सालमा फेरी एक पटक म्याद थपिएको थियो । उक्त म्याद थप गर्दा पनि काम सम्पन्न नहुँदा २०८० साल साउन ११ गते पाँच महिनाका लागि पुन म्याद गरिएको छ । 

पुल निर्माणका लागि आयोजनाले दश करोड ९१ लख ७४ हजार भ्याट सहित लागत लाग्ने गरी सम्झौता गरेको थियो । 

Author
राजन रावत

उहाँ हुम्लाबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।