• १३ मंसिर २०८१, बिहिबार

सिमकोट–हिल्सा सडकलाई अस्थायी रुट दिन सिफारिस

blog

हिल्सा नाकाबाट नेपाल भित्रिएका दुईवटा मिनिबसमध्ये एउटा बस यारीमा । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, असोज २६ गते । हाल यातायातका साधनहरु सञ्चालनमा रहेको सिमकोट–हिल्सा सडक खण्डलाई अस्थायी रुट परमिट प्रदान गर्न सडक अनुगमन समितिले सिफारिस गरेको छ । उक्त सडकको सिमकोटबाट हिल्साखण्डको सडकको स्थलगत अनुगमन गरेको टोलीले अस्थायी रुट परमिट प्रदान गर्न उपयुक्त हुने निष्कर्ष निकाल्दै सिफारिस गरेको हो । 

अनुगमन टोलीका संयोजक हिल्सा–सिमकोट सडक आयोजनाका योजना प्रमुख बिरेन्द्र चन्दले सडकको अबस्था हेर्दा सिमकोटबाट हिल्सासम्म अस्थायी रुट परमिट दिन उपयुक्त देखिएको निष्कर्ष अनुगमन टोलीले निकालेको र त्यसै अनुसारको प्रतिबेदन प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेललाई पेश गरिएको बताउनुभयो । 

यसअघि ट्राफिक प्रहरीले दुई पटक यातायात कार्यालय सुर्खेतलाई सो खण्डको अस्थायी रुट परमिटका लागि माग गरेको भए पनि कार्यालयले दिएको थिएन । प्रजिअ पौडेलले अस्थायी रुट परमिट लिनका लागि सडक अनुगमन समिति गठन गर्नुभएको थियो । प्रमुख चन्दले मिनिबस सञ्चालनका लागि हिल्सा–सिमकोट सडकको अबस्था ठिक भएको कारण रुट परमिट दिनका लागि अनुगमन समितिले सिफारिस गरेको बताउनुभयोे । 

उक्त सडकको अधिकांश स्थानमा आठ मिटर चौडा रहेको छ । सिमकोटबाट हिल्सासम्म सडकको स्तरोन्नति कार्य समेत भइरहेका कारण अस्थायी रुट परमिट दिंदा कुनै समस्या नहुने निष्कर्ष समितिको रहेको छ । समितिमा संयोजक चन्द, नागरिक समाजको तर्फबाट पत्रकार महासंघ हुम्लाका अध्यक्ष राजन रावत, ट्राफिक प्रहरी नायव निरीक्षक कलकबहादुर शाही र यातायात ब्यवसायी बिजय लामा रहनुभएको थियो । 

उक्त खण्ड ९५ किलोमिटर लम्बाइ रहेको छ । हाल टिप्पर, ट्याक्टर र बोलेरो जीप सञ्चालन हुँदैआएको छ । गत भदौमा सो खण्डको सडकमा सञ्चालन गर्नका लागि दुई वटा मिनिबसहरु हिल्सा यातायात प्रालिले केरुङ नाका हुँदै तिब्बतीमार्ग भएर हिल्सामा ल्याएको थियो ।