• १८ वैशाख २०८१, मङ्गलबार

भेपमार्फत सुन तस्करी प्रकरण

राहुल महरासहित तीन जनाविरुद्ध मुद्दा दायर

blog

काठमाडौँ, असोज २५ गते । विद्युतीय चुरोट (भेप) मार्फत अवैध रूपमा सुन तस्करी र बिक्री प्रकरणमा सहभागी भएको अभियोगमा थप चार जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले अभियोगपत्र दर्ता गरेको हो । 

राज्यलाई लाभ हुने राजस्वमा हानि नोक्सानी पु-याई आपराधिक लाभ लिएको अभियोगमा मुद्दा दायर गरिएको हो । सङ्गठित अपराध निवारण ऐन तथा भन्सार ऐनविपरीतको कसुरमा मुद्दा दायर गरिएको हो । आपराधिक विश्वासघात तथा भन्सार चोरी पैठारीमा मुद्दा दायर भएको छ । 

मुद्दामा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल भनिने रेशम महरा, चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङ, छिरिङका सवारीचालक लोकेन्द्रकुमार पौडेल तथा निमा गुरुङलाई विपक्षी बनाइएको छ । ७३० थान भेपमा ल्याइएको नौ किलो सुन प्रकरणमा यसअघि पनि मुद्दा दायर भइसकेको थियो । 

मुख्य अभियुक्तलाई छाडेर अन्यलाई मुद्दा चलाइएको भन्दै संसद्मा समेत पटक पटक विरोध भएपछि प्रहरीले पुनः मुद्दा लगेको हो । मुद्दा अनुसन्धानका सिलसिलामा पूर्वसभामुख महरासँग पनि प्रहरीले सोधपुछ गरेकोमा प्रतिवादी भने कायम गरिएको छैन । 

मुद्दामा प्रतिवादी बनाइएका छिरिङ ६१ किलो सुन प्रकरणमा पनि जोडिएका छन् । अदालतको आदेशले छिरिङ पुर्पक्षका लागि थुनामा छन् । चारै जनालाई मुलुकी अपराध संहिताको दफा २५१ (१) तथा २५२ (२) तथा भन्सार ऐन र सङ्गठित अपराध निवारण ऐनविपरीतको कसुर आकर्षित गरिएको छ । 

अभियोगपत्रमा छिरिङविरुद्ध मुलुकी अपराध संहिताको व्यवस्था अनुसार आपराधिक विश्वासघातमा पाँच वर्षसम्म कैद र ५० हजार रुपियाँ जरिबानाको माग गरिएको छ । यस्तै भन्सार ऐनको दफा ५७ को व्यवस्था अनुसार तीन वर्षदेखि पाँच वर्षसम्म कैदको पनि माग गरिएको छ । यस्तै सङ्गठित अपराध निवारण ऐन २०७४ को दफा ९ को खण्ड (क) बमोजिम कसुर गर्नेलाई प्रचलित कानुनबमोजिम हुने सजायमा थप ५० प्रतिशत सजायको दाबी पनि अभियोगपत्रमा गरिएको छ । यस्तै रेशम महरा, लोकेन्द्रकुमार पौडेल र निमा गुरुङको हकमा कसुर तथा दुरुत्साहनमा हुने सजाय दाबी गरिएको छ ।