• १ जेठ २०८२, बिहिबार

अवैध सालको काठसहित एक पक्राउ

blog

नेपालगञ्ज सबडिभिजन वन कार्यालयले बरामद गरेको सालको चिरान काठ । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, असोज २४ गते । नेपालगञ्जमा वन कार्यालयको टोलीले बुधवार विहान एक सःमिलमा छापा मारी अवैध सालको चिरान काठसहित एक जनालाई पक्राउ गरेको छ । 

वन कार्यालयको टोलीले सो मिलमा सालको गोलिया काठ चिर्दै गर्दाको अवस्थामा फेला पारेको हो । नेपालगञ्ज उपमहानगरपालिका वडा –१४ भाटनपूर्वास्थित जय गुरुदेव सःमिलमा छापामारी अवैध साल जातको चिरान काठसहित एक जनालाई पक्राउ गरिएको नेपालगञ्ज सबडिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत नारायण पार्धेले जानकारी दिनुभयो । 

उक्त सःमिलबाट ३२ थान सालको २४.६६ क्यूफुट अवैध चिरान काठ बरामद भएको सहायक वन अधिकृत पार्धेले बताउनुभयो । काठ सँगसँगै उक्त सःमिलका प्रतिनिधि मकरध्वज पाण्डेलाई पनि अनुसन्धानका लागि पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो ।

उक्त सःमिलमा अवैध काठको चिरान र कारोबार भइरहेको भन्ने सूचनाका आधारमा छापा मार्दा कागजपत्र नभएको काँचो अवस्थामा रहेको काठ बरामद भएको पार्धेले बताउनुभयो । “अवैध काठ चिरान भइरहेको छ भन्ने सूचना प्राप्त भयो । मिलमा जाँदा अवैध सालको गोलिया काठ चिरान गर्दाको अवस्थामा फेला परेको छ ।” उहाँले भन्नुभयो ।

बरामद गरिएको काठ र पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धान गरी कारबाहीका लागि डिभिजन वन कार्यालय बाँकेलाई बुझाइएको उहाँले जानकारी दिनुभयो । बाँकेमा पछिल्लो समय अवैध काठको ओसारपसार, चोरी तस्करी तथा विक्री वितरण गर्ने काम निरन्तर बढिरहेको छ ।