कपिल ज्ञवाली
सिद्धार्थनगर, असोज २३ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सेवाग्राहीलाई लक्षित गर्दै निःशुल्क अटोरिक्सा सञ्चालनमा ल्याएको छ । नगरपालिकाले सेवाग्राहीलाई सहज होस् भन्ने उद्देश्यले तिलोत्तमा शंकपुरदेखि तिलोत्तमा नगरपालिकाको कार्यालयसम्म जाने–आउने सेवाग्राहीका लागि निःशुल्क अटो सञ्चालनमा ल्याएको छ ।
निःशुल्क अटोरिक्साको तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाण र उपप्रमुख जागेश्वदेवी चौधरीले अटोरिक्साको साँचो महिला चालक इन्द्रकला श्रेष्ठलाई हस्तान्तरण गरेर शुभारम्भ गर्नुभयो । नगरप्रमुख खाणले भौतिक र मानवीय विकास मात्र नभई नगरवासीलाई पनि सेवा दिन निःशुल्क अटोरिक्सा सञ्चालन गरिएको बताउनुभयो ।
नगरपालिका र सेवाग्राही एक सिक्काका दुई पाटा भएकाले तिलोत्तमा नगरपालिकाले सकेसम्म सेवाहरू नगरबासीलाई प्रदान गर्ने उहाँको भनाइ छ । तिलोत्तमा नगरपालिकाको कार्यालय मुख्य सडकदेखि करिब १ किलोमिटरभित्र भएकाले सेवाग्राही नगरपालिकाले सेवा लिन आउँदा दुःख भएपछि अटोरिक्सा सञ्चालन गरिएको हो ।
महिला पनि अवसर पाएमा जुनसुकै काम गर्न सक्छ भन्ने कुरालाई पुष्टि गर्न अटोचालक महिला राखिएको उहाँको भनाइ छ । तत्कालका लागि एउटा मात्र अटो सञ्चालनमा ल्याइएको र पछि आवश्यकताअनुसार अटो सङ्ख्या बढाउँदै लगिने छ ।
नगरपालिकाको कार्यालयमा जान–आउन सार्वजनिक यातायातको सुविधा नभएकाले निःशुल्क अटो सञ्चालनमा ल्याइएको तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वीदेवी चौधरीले बताउनुभयो ।
आफ्नो सवारी साधन हुने सजिलैसँग आउने भए पनि नहुनेलाई धेरै दुःख भएको बताउँदै अब यो समस्या हट्ने उहाँको विश्वास छ । प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले नगरपालिका नगरवासीको सेवाप्रति जिम्मेवार र उत्तरदायी हुनुपर्ने र सो कुरा नगरपालिकाले सञ्चालन गरेको निःशुल्क अटोले पुष्टि गर्ने बताउनुभयो ।