• ११ असोज २०८१, शुक्रबार

‘युवा पलायन चिन्ताजनक’

blog

भैरहवा समाचारदाता

भैरहवा, असोज २३ गते ।  नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा रोजगारी नहुँदा युवा विदेश पलायन भइरहेको बताउनुभएको छ । समाजवादी जागरण अभियानका क्रममा भैरहवा आउनुभएका खनालले आइतबार समाजवादी प्रेस सङ्गठन नेपाल रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै युवा पलायन हुनु मुलुकका लागि ठिक नभएको बताउनुभयो ।

उहाँले यही अवस्था रहे देश युवाविहीन हुने खतरा बढ्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “युवालाई मुलुकमै टिकाउन जरुरी छ, यसका लागि रोजगारी वृद्धि, औद्योगिकीकरण, कृषि क्षेत्रमा व्यापक सुधार र विकास जरुरी छ ।” 

उहाँले मुलुकमा रोजगारी वृद्धि, सुशासन, शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकीकरणलगायतलाई केन्द्रमा राखेर पार्टीले समाजवादी जागरण अभियान चलाइरहेको र यसले समाजवादतर्फ जान मद्दत गर्ने बताउनुभयो । नेता खनालले नेपालमा नयाँ ढङ्गको धु्रवीकरणको आवश्यकता रहेको समेत बताउनुभयो । वर्तमान पुँजीवादी शासन व्यवस्थाका कारण मुलुकले कोल्टे फेर्न नसकेको उल्लेख गर्दै उहाँले समाजवादी व्यवस्थासहितको नयाँ धु्रवीकरणमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “समाजवादमा जानका लागि आवश्यक परे विचार मिल्ने कम्युनिस्ट एक हुनुपर्ने हुन्छ । यसका लागि नयाँ धु्रवीकरण जरुरी छ ।”

समाजवादी पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जनताका प्रत्यक्ष भोगाइलाई लिएर मेची महाकाली यात्रामा निस्किएको बताउनुभयो । नेता खतिवडाले समृद्धि, रोजगारी र कृषि सँगसँगै अगाडि लैजानुपर्नेमा जोड दिनुभयो । समाजवादी जागरणको मेची–महाकाली यात्रा असोज २९ मा महेन्द्रनगर पुगेर समापन हुने छ ।