• १ जेठ २०८२, बिहिबार

मोही हकसम्बन्धी उजुरी बढे

blog

लीलाधर वली 

घोराही, असोज २३ गते । भूमिसुधार तथा मालपोत कार्यालयमा जग्गाको मोही हक नामसारीसम्बन्धी उजुरी बढेका छन् । आर्थिक वर्ष २०७८/७९ सम्ममा एक हजार ५२८ उजुरीमध्ये ३०६ वटा फस्र्योट भएको जनाइएको छ ।

तीमध्ये एक हजार २२२ उजुरी बाँकी रहेका छन् । मोही बाँडफाँटमा पनि ३७० मुद्दा फस्र्योट गर्न बाँकी रहेको छ । आर्थिक वर्ष २०७९/८० मा मात्रै १०८ वटा मोही हक नामसारी मुद्दामा ३९ वटा फस्र्योट भएको देखिएको छ । 

पारिवारिक मोही लगत कट्टा ५४ वटा भएका छन् भने पाँच वटा बाँकी छन् । हालसम्म नामसारीका २९ मुद्दामा पाँच फस्र्योट भएका छन् भने जग्गाधनी फेला नपरेका निवेदन २१ वटा छन् ।

जिम्मेवारी सर्दै आएका २० वर्षदेखिका मुद्दा र फाइलको चाङ कार्यालयमा रहेको मालपोत कार्यालयका कर्मचारी विमला खनालले बताउनुभयो । उहाँका अनुसार, अहिले पनि एक हजार ७८० मुद्दा विचाराधिन छन् । नयाँ जग्गाधनीले तामेल बुझ्न नमान्दा मोही मुद्दाको टुङ्गो लाग्न नसकेको खनालले बताउनुभयो । उहाँले मोहीले जग्गाधनी नचिन्ने जग्गाधनीले मोही नचिन्ने अवस्था रहेको बताउनुभयो । 

नयाँ रजिस्ट्रेसनमा मोही भए नभएको यकिन गरी मोही कट्टा गरेर मात्रै जग्गा किन्न सबैलाई अनुरोध गरिएको छ । कार्यालयका अनुसार ससाना घडेरी किनेर घर बनाएकोमा मोही पर्दा पनि मिलापत्रमा समस्या भएको छ । गत आर्थिक वर्षमा २६९ लगतमा १५५ मात्रै फस्र्योट भएको छ । जिम्मेवारी सरी आएका एक हजार ५९४ र नयाँ दर्ता २६९ समेत गरी जम्मा एक हजार ८६३ मध्ये २८३ मात्रै फस्र्योट भएको कार्यालयले जनाएको छ । मोहीसम्बन्धी परेका मुद्दामा फस्र्योट हुन बाँकी मुद्दाको सङ्ख्या धेरै रहेको सो कार्यालयले जनाएको छ । एक हजार ५८० मोहीसम्बन्धी मुद्दा फस्र्योट हुन बाँकी छ ।