• १३ मंसिर २०८१, बिहिबार

भर्चुअल प्रणालीमा न्याय सम्पादन

blog

जुम्ला समाचारदाता

जुम्ला, असोज २१ गते । उच्च अदालत सुर्खेत जुम्ला इजलास जुम्लाले न्याय सम्पादनलाई छिटोछरितो र सहज बनाउन भर्चुअल माध्यमबाट सेवा दिन थालेको छ।

साबिक कर्णालीका पाँच जिल्लालाई न्यायिक सेवा लिनका लागि खर्चिलो र असहज भएका कारण भर्चुअल माध्यमबाट सेवा दिन थालिएको हो। उच्च अदालत सुर्खेत जुम्ला इजलासका रजिस्ट्रार यामप्रसाद बाँस्कोटाका अनुसार बिहीबार सेवाको परीक्षण गरिएको छ । उहाँका अनुसार जुम्लाबाहिरबाट सम्बन्धित जिल्लाको अदालतमा गएर जुम लिङ्कमा जोडिएर अधिवक्ता तथा सेवाग्राहीले सेवा लिन पाउने छन् । 

साबिक कर्णालीका मुगु, हुम्ला, कालीकोट र डोल्पाका लागि कुनै व्यक्तिले सम्बन्धित जिल्ला अदालतमा पुगेर त्यहाँको प्रविधि प्रयोग गरी भर्चुअल रूपमा बहस, बकपत्र र तारिख बोक्न पाउने छन् । हुम्लाबाट जुम्लामा आउँदा एक हप्ता लाग्ने गरेको गुनासो आएपछि उनीहरूको सहजताका लागि प्रविधिमैत्री न्याय सम्पादन गर्ने कार्यको थालनी भएको छ । 

न्याय महँगो भयो, छिटो न्याय पाएनौँ भन्ने गुनासो कम गर्न यो प्रणालीले सहयोग पुग्ने अपेक्षा गरिएको छ। उच्च अदालत सुर्खेत जुम्ला इजलासका वरिष्ठतम न्यायाधीश श्रीमणकुमार गौतमले अदालतले प्रविधिको उच्चतम प्रयोग गरी न्याय सम्पादनलाई छिटोछरितो र कम खर्चिलो बनाउने अभ्यासको थालनी गरेको बताउनुभयो । उहाँका अनुसार अदालतका सबै सेवालाई सकेसम्म प्रविधियुक्त बनाइने छ । 

यसले गर्दा छिटो न्याय सम्पादन गर्न सहयोग पुग्ने छ। अनलाइन प्रविधिबाटै तारिख लिनेदेखि बकपत्र, मुद्दामा बहसलगायतका काम भर्चुअल रूपमै गर्ने अभ्यासले भौतिक रूपमै पेसी र तारिखमा अदालत धाइरहन नपर्ने बताइन्छ ।