• १३ मंसिर २०८१, बिहिबार

सार्वजनिक सुनुवाइमा सेवाग्राहीको उपस्थिति न्यून

blog

हुम्ला समाचारदाता

हुम्ला, असोज २१ गते । सिमकोट गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा सेवाग्राही नै उपस्थित भएनन् ।  जसका लागि आयोजना गरिएको कार्यक्रम हो सोही समुदाय उपस्थित नभएपछि सरोकारवाला पक्षले गुनासो गरेका छन् । 

आर्थिक वर्ष २०७९।८० को सार्वजनिक सुनुवाइ कार्यक्रममा वास्तविक सेवाग्राहीको उपस्थिति न्यून भएको सिमकोट गाउँपालिका– ५ का स्थानीय तीर्थराज रोकायाले बताउनुभयो । जसका लागि आयोजना गरिएको हो उनीहरू नै उपस्थित नहुनु गाउँपालिकाको कमजोरी भएको औँल्याउनुभयो । 

पालिकाले सम्बद्ध समुदायलाई जानकारी गराउन कन्जुस्याईं ग¥यो उहाँले भन्नुभयो, पाँच वटा विषयगत समिति अन्तर्गत पाँच सयभन्दा बढी क्रियाकलाप सञ्चालन भए पनि सेवाग्राही नहुँदा समस्या भयो । यो सकारात्मक काम नभएको गुनासो उहाँको छ । 

राप्रपा जिल्ला अध्यक्ष विकास महतले गाउँपालिकाको काम गराइप्रति सन्तुष्टि जनाउँदै, स्थानीयवासी उपस्थित नहुनु भनेको स्थानीय सरकारप्रतिको असन्तुष्टि भएको बताउनुभयो । उहाँले १८४ वटा भौतिक पूर्वाधारका योजनाहरू सञ्चालन गरेको भए पनि पाँच जनाभन्दा बढी उपभोक्ता समितिका अध्यक्ष वा पदाधिकारी उपस्थित गर्न नसक्नु वडाध्यक्ष र गाउँपालिकाको कमजोरी रहेको बताउनुभयो । 

यस्ता कार्यक्रम सञ्चालन गर्दा कम्तीमा एक हप्ताअगाडि गाउँ गाउँ र टोल टोलमा सूचना दिनुपर्ने प्रावधान छ उहाँले थप्नुभयो गाउँपालिकाले त्यसप्रति किन चासो दिन सकेन, जनतालाई जवाफ चाहिन्छ ।

सेवाग्राहीका लागि सञ्चालन गरिने क्रियाकलापको जानकारी दिन कर्मचारी मात्र उपस्थित हुनु भनेको आफैँ धामी आफैँ झाँक्री साबित भएको टिप्पणी उहाँले गर्नुभयो । सेवाग्राही उपस्थित नभएको विषयमा गाउँपालिका अध्यक्ष विजय भण्डारीले सूचना गरे पनि सेवाग्राही उपस्थित नभएको भन्दै गाउँपालिकाको बचाउ गर्नुभयो ।  उहाँले स्थानीय र रेडियो, वडा कार्यालय र सामाजिक सञ्जालबाट जानकारी दिँदा पनि सेवाग्राही नआउनु दुःखद पक्ष भएको बताउनुभयो । यसअघि गाउँपालिका योजना शाखाका शाखा अधिकृत उजिर रोकायाले अघिल्लो आर्थिक वर्षमा सञ्चालन भएका कार्यक्रमका बारेमा जानकारी दिनुभएको थियो ।