• १२ साउन २०८१, शनिबार

प्रधानमन्त्री भूकम्प प्रभावित बझाङमा

मृतकका परिवारलाई जनही दुई लाख दिने घोषणा

blog

बझाङ चैनपुरस्थित जिल्ला प्रशासन कार्यालयमा प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीहरु सहयोग हस्तान्तरण गर्नुहुँदै । तस्बिर : प्रदीपराज वन्त

बझाङ, असोज १९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बझाङमा भूकम्पका कारण गएका पहिरोमा परी मृत्यु भएका प्रति परिवारलाई दुई लाख रुपियाँ सहयोग प्रदान गर्ने बताउनुभएको छ ।

शुक्रबार नेपाली सेनाको हेलिकोप्टरबाट बझाङको सदरमुकाम चैनपुर पुगेर भूकम्पबाट भएको क्षति अवलोकनपश्चात राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि प्रधानमन्त्री प्रचण्डले उक्त घोषणा गर्नुभएको हो ।

प्रधानमन्त्रीले भूकम्पले निम्त्याएको पहिरोमा परी मृतक हुनुभएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुहुँदै मृतक परिवारलाई तत्काल दुई लाख सहयोग प्रदान गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसैगरी, भूकम्पबाट पूर्ण क्षति भएका घरका परिवारलाई तत्कालका लागि अस्थायी आवास निर्माण गर्न ५० हजार उपलब्ध गराइने पनि बताउनुभयो ।

त्यस्तै, भूकम्पबाट प्रभावित अन्य परिवारलाई राहतस्वरूप परिवार सङ्ख्याको आधारमा मापदण्ड बमोजिम १५ देखि २० हजार तत्काल राहत खर्च व्यवस्था गरिनेछ  ।


गत मङ्गलबारका दिन बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पबाट कहाँ, के, कति क्षति भएको छ यकिन गरिनेछ । मूल्याङ्कन यस आधारमा सामान्य मर्मत सम्भार गर्नुपर्ने, गरी प्रबलीकरण गर्नुपर्ने वा पुनर्निर्माण गर्नुपर्ने भन्ने निर्धारण गरी कार्य अघि बढाइनेछ ।

राहत सामग्रीहरू जस्तै पाल, कम्बल, औषधि, खाद्यान्न, लत्ताकपडा, अपाङ्गता भएका व्यक्तिलाई आवश्यक पर्ने सामग्रीहरुको व्यवस्थापन भएको छ । थप सामग्री आवश्यक परेमा तीनै तहका सरकारको समन्वयमा व्यवस्था गरिनेछ ।

भूकम्पमा परी घाइतेहरूको निःशुल्क उपचारको प्रबन्ध मिलाइएको छ ।

भत्किएका, चिरा परेका, आंशिक क्षति भएका घर तथा संरचनाहरुको दीर्घकालीन पुनर्निर्माण  र पुनर्स्थापनाका लागि स्थानीय तह, जिल्ला प्रदेशबाट प्राप्त क्षति मूल्याङ्कनका आधारमा कार्यविधि बनाई यस अघि गोरखा, सिन्धुपाल्चोक लगायतका जिल्लामा गरिएको पुनर्निर्माण जस्तै स्थानीय सामग्रीहरूको प्रयोग गरी सुरक्षित पुनर्निर्माणको काम अगाडि बढाइनेछ ।

सरकारी कार्यालय, सामुदायिक भवन, स्कुल आदि क्षति पुगेका संरचनाहरूको गरी यथाशीघ्र पुनर्निर्माण गरिनेछ ।


हालसालै गएका थुप्रै भूकम्पहरूलाई जोखिमको पूर्व सङ्केतको रूपमा लिँदै ठूलो विपदको सामना गर्न सक्ने क्षमता विकास गर्न जोखिम आंकलन न्यूनीकरण, पूर्व तयारी र पूर्व सूचना प्रणालीको काम अघि बढाइएको छ । यी कामहरूलाई बझाङलगायत उच्च जोखिममा रहेका क्षेत्रमा समेत अघि बढाइनेछ ।

बझाङ र सुदूर पश्चिमको समग्र विकासमा निर्णायक महत्त्व राख्ने कैयन परियोजना अघि बढाइएका छन् । हालै मित्रराष्ट्र चीनको भ्रमणका अवसरमा उरै भञ्ज्याङ हुँदै ताक्लाकोट सीमा नाका र दार्चुलाको टिंकर नाका समेत खोल्ने सहमति भएको छ । नेपालतर्फ दिपायल–खुटिया–उरै–ताक्लाकोट फास्ट ट्र्याक सडकका लागि र टिंकर जोडने महाकाली करिडोरका लागि बजेट सुनिश्चित गरिएको छ ।

प्राकृतिक सम्पदाले भरिपूर्ण बझाङमा खानीजन्य उद्योग तथा हिमाली पर्यटन का क्षेत्रमा तीनै तहबीच समन्वय गरी आयोजना निर्माण गरिनेछन् ।

नेपालको आर्थिक विकास तथा विद्युतीकरणको लागि महत्वपूर्ण पश्चिम सेती जलविद्युत् परियोजनाबारे सरकार गम्भीर छ । यो परियोजा कार्यान्वयन गर्न आवश्यक प्रक्रिया अघि बढेको छ ।

भूकम्पबाट प्रभावितहरूलाई उद्धार, राहत तथा अन्य सहयोग प्रदान गर्न खटिनुभएका सम्पूर्ण राष्ट्रसेवक, सुरक्षा निकाय, स्थानीय तह, नागरिक समाज, दातृसंस्था, निजी क्षेत्रलगायत सबैला सरकारका तर्फबाट धन्यवाद दिँदै आगामी दिनमा समन्वय, सहकार्य र सहयोगका लागि समेत आह्वान गर्दछु ।

प्रधानमन्त्री प्रचण्डको भ्रमण टोलीमा उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र परराष्ट्रमन्त्री नारायणप्रकाश साउद पनि हुनुहुन्छ ।

बझाङको तलकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर यही असोज १६ गते गएको भूकम्प र त्यसपछिका परकम्पले जिल्लामा क्षति गरेको छ ।

यो पनि पढ्नुहोस

प्रधानमन्त्री भूकम्प प्रभावित जिल्ला बझाङमा