• ४ जेठ २०८१, शुक्रबार

ओठ र शरीर हैन माटो (कविता)

blog

पेटमा पटुका कसेर

या दरो इँजार बाँधेर

बरु भोकभोकै बस्ने

अर्काको नचोर्ने 

मागेर कसैको विशेष दयामा

विशेष सम्बन्धम पेट नभर्ने

आत्मासम्मानी

स्वाभिमानी

कतै खोज्न जानु छ भने

प्रिय मित्र राष्ट्रहरू नेपाल पस्नु

नेपालीहरूलाई

आफ्नो भूगोलभन्दा प्रिय

उसको भोक हँुदैन

आफू जन्मेको माटोभन्दा प्रिय 

उसकी श्रीमतीको ओठ हुँदैन

सुन

अरू अरूले

ओठ र शरीरहरू चुम्लान

नेपालीहरू माटो चुम्छन

ऊ जन्मँदा

पहिला

सास फेर्ने क्रममा 

उसले माटोको गन्ध पायो

ऊ जन्मदा

आमाको गर्भबाट

जन्मदै माटो भिजाएर जन्मियो

माटोको रसात्मकताले उसलाई रसायो

माटोको उर्वराले उसलाइ हुर्कायो

र यो जम्मै उसको इन्द्रियमा व्याप्त छ ।