• १५ कात्तिक २०८१, बिहिबार

यतिबेला (कविता)

blog

सकिएको छ जसको जीवनको गतिशीलता

सकिएको छ जसको आलोचनात्मक चेतना

सकिएको छ जसको युगीन वैचारिक सामथ्र्य

दिनप्रतिदिन हाबी हुँदै गइरहेका छन्– यतिबेला

तिनै उत्तरआधुनिक भूतप्रेत, पिशाच र म.शा.न.हरू

क्रमशः सदस्य कम र ज्यादै सेवकहरूको स्वरूपमा !


विश्वास गरिरहेका छन्– आँखा चिम्लेर

मान्छे मात्रैको स्वतन्त्रता, सार्वभौमिकता

र, मानवीय गरिमाको भन्दा दासतामा बढी

सायद त्यसैले त सकिएको छ– यतिबेला

उनीहरूको अर्थहीन जीवनको उज्यालो !


जागृत हुनैपर्ने थियोे सुनौला सपनाहरूको

बल्नैपर्ने थियोे युगीन चेतनाको जीवनज्योति

अभिव्यक्त हुनैपर्ने थियोे बुलन्दित आवाजमा

युगीन चेतना र जीवन्त जागृत सपनाहरूको

तर अझै हुन सकिरहेको छैन अहिलेसम्म पनि... !


विसर्जन गरिएको छ– सधैँका लागि

जीवन्त वैचारिक मन्थनीय संस्कृतिको

सकिएको छ– युगीन विचार सधैँका लागि

क्रमशः हाबी हुँदै गएको छ– स्वेच्छाचारी सत्ता !


विचारको बीभत्स हत्या भएसँगै जमाउँदै गएको छ–

असान्दर्भिक उखानटुक्काहरूले आफ्नो बलियो पकड

र, रौसिएर हौसिँदै ताली बजाइरहेका छन्– यतिबेला

उत्तरआधुनिक अन्धभक्त लम्पटदास झोले मनुवाहरूले !


इतिहासको सबैभन्दा गह्रुँगो भारी उठाउन खोज्दा

सोही भारीले थिचिएर किचिएका छन्– अहिलेसम्म

आशीर्वादमै अल्झिएर उज्यालो भविष्य देख्नेहरू

आफ्नो जन्मसिद्ध लोकतान्त्रिक अधिकारलाई

एउटा अहङ्कारी अगस्तिको पाउमुनि चढाइदिएर

अझै उल्टो दिशामै हिँडिरहेका छन्– लखरलखर

उत्तरआधुनिक श्रीरामभक्त हरिविहीन हनुमानहरू !


भोटेताल्चा झुन्ड्याइदिएर आफैँभित्रका

असीमित सम्भावनाहरूको मूलढोकामा

आत्महत्याको गोरेटो बाटो रोजिरहेका छन्,

सोही साघुरो चोरबाटो हुँदै लुखुरलुखुर हिँडेर

चरम निराशाको चारकोसे झाडीभित्र पुगेपछि

रतिव्रmीडामा निमग्न रमाइरहेका छन्– यतिबेला

उत्तरआधुनिक विवेकविहीन बुङ्गा वामदेवहरू !


हराएसँगै अग्रगामी परिवर्तनका एजेन्डाहरू

हाबी भएर देखिएका छन्– स्वार्थका साँढेहरू !


हतारमा गरिएका सङ्गीन अपराधहरूका लागि

इतिहाससँग माफी माग्ने सुनौलो अवसरबाट

अहिलेसम्म आफैँलाई वञ्चित गराइरहेका छन्–

फुर्सदमा पछुताउँदै उत्तरआधुनिक हिटलरहरू !


असीमित स्वतन्त्रताको खोजीमा

सहर पसिरहेका ज्युँदा मान्छेहरू

फसिरहेका छन्– अहिलेसम्म

अदृश्य पिँजडाको जञ्जिरभित्र

र, थुचुक्क बसिरहेका छन्– यतिबेला

आफ्नो अभागी टाउकोमा हात राखेर

आफ्नै अकल्पनीय मृत्युको पर्खाइमा !


सबैभन्दा माथि चढाएर अहम्को पारो

चिफ्लेटी खेल्दै शहीदहरूको आलो रगतमा

आइरहेका छन् भुइँमान्छेहरू बुर्कुसी मार्दै,

रहलपहल बैँस निचोरेर भुइँमान्छेहरूको

ठड्याइरहेका छन् आफ्नो स्वार्थको महल !


किम्कर्तव्यविमुढ झैँ जीवित रहेका देखिन्छन्–

धुकधुकी पालेर सुनौलो सपना साकार हुने दिनको

अधैर्य पर्खाइमा बसिरहेका नौजवान नवयुवकहरू !

गुलामीमय अर्थहीन रोदनको बिच बजारमा

अकल्पनीय पीडादायी व्यक्तिगत मनोरञ्जनमा

रमाइरहेका छन्– उत्तरआधुनिक किचकन्नीहरू !

सातो गएको बच्चा जस्तै चुपचाप टोलाएर

बसेका छन्– (अ) बौद्धिक ? बुख्याचाहरू !


निभाइदिएर इतिहासको मधुरो बत्ती

बत्तिँदै गुडिरहेको छ जेब्राक्रसको बाटो

पुरानो ध्वाँसिएको झन्डावाल नयाँ गाडी,

सोही गाडीमा सवार छन्– वर्षौं पहिलेदेखि

हामीलाई उधारो सपना बेचिरहेका दोखहरू ! 


करादीखोला, स्याङ्जा