• १५ कात्तिक २०८१, बिहिबार

शब्द भएर आएँ म पनि

blog

हरदम शब्द भएर आयौ तिमी 

चरा जस्तै चिरबिरचिरबिर गर्दै मेरो ओठमा 

बतास भएर उड्दै उड्दै आयौ

बादल भएर वर्षियौ कहिले

कहिले रुख भएर उम्रियौ मनका पखेराहरूमा

मुटुबाट निस्कियौ फुत्त

र आयौ मेरो कलमको निबमा

कहिले अक्षर बनेर आयौ सिङ्गो पुस्तकका पानाहरूमा


हरदम शब्द भएर आयौँ तिमी मसम्म


कहिले मेरो नजिकैबाट 

कहिले कोसौँकोस टाढाबाट

कहिले दम्भी शासकका पर्खालहरू नघ्दैनाघ्दै

कहिले तानशाहको बन्दुकको नाल छल्दै छल्दै

हिउँमा आगो जस्तै तातो भएर

घाममा शीतल बतास बनेर

कहिले ताराहरू हिँड्ने आकाशको बाटो भएर 

कहिले किनार छोइजाने समुद्री छाल बनेर

कहिले पातहरू बजाएर जाने सिरसिरे हावाको बहावमा  

हरदम शब्द भएर आयौ तिमी मसम्म


तिमीले उपहार दिएका तिनै शब्दहरू 

बसाइँ सरेर आएका छन् मसँगै

हावाको वेग छिचोलेर, समुद्रको छालमा तैरिएर

बादलमा गुजुल्टिएर

कुनैै अनकन्टार जङ्गलको बाटो चिप्लिँदै, लड्दै, उठ्दै

र त संसारमा जहाँ पुगुँ म, शब्दहरूकै गुँड बनाइरहेछु

कोरलिरहेछु शब्दहरूकै बच्चा 

खाँदै र खुवाउँदैछु तिनलाई शब्दहरूकै दाना

तिनै शब्दहरू सिकाइरहेछन् मलाई 

बोल्न शब्दमै, हाँस्न शब्दमै    

रुन शब्दमै निदाउन र सपना देख्न पनि शब्दमै

र त म पनि 

शब्द भएर आएको छु अहिले तिम्रो अघिल्तिर यसरी !