• १८ वैशाख २०८१, मङ्गलबार

मैले खोजेको देश (कविता)

blog

यो 

के आएछ ?

अहँ... 

मैले ल्याउन खोजेको 

मैले ल्याउन सोचेको 

पटक्कै 

यो हुँदै होइन


मैले त 

छयाङ्ग आकाश खोजेको थिएँ

र कालरात्रिबाट उन्मुक्ति

तर 

देशको नाकबाट धुवाँको मुस्लो

उसको फोक्सोसम्म पुगेर

यतिबेला 

कार्बन पो डढाइरहेछ

अहँ...

मैले खोजेको यो

अन्धकार हुँदै होइन


मनमा

उज्यालो आकाशको सपना थियो 

आँखामा 

सूर्यको मिर्मिरे

किरणको अपेक्षा थियो

तर भत्कियो 

मेरो मुटुको आँखाले देखेको

सपना

अहँ...

मेरोे मुटुको सपना त 

मुटुलाई नै चिथोरेको

मेरै आफ्नाहरूले

पटक्कै थिएन 

मनमा

उज्यालो आकाशको सपना थियो 

आँखामा भत्भती पोल्ने

धुवाँको मुस्लो होइन

शीतल चन्द्रमाको 

बरफे चिसो आनन्द थियो

अहँ...

मेरो मुटुको बिचबाट 

मुटुको टुप्पोले खोजेको

मान्छे

यस्तो हुँदै होइन


अहँ... 

मैले खोजेको देश

पटक्कै यस्तो हुँदै होइन !