• ३१ वैशाख २०८२, बुधबार

गाउँका विद्यालयमा शिक्षक अभाव

blog

केदार तिमल्सिना 

काभ्रेपलाञ्चोक, असोज १२ गते । काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका–३ मा रहेको वनदेवी माध्यमिक विद्यालयले निमावि तहको करारमा विज्ञान विषयको शिक्षक आवश्यकतासम्बन्धी सूचना पाँचौँ पटक जारी गरे पनि हालसम्म शिक्षक पाउन सकेको छैन । पाँच पटक सूचना जारी गर्दा पनि करारमा विज्ञान विषयको शिक्षक नपाएपछि सो विद्यालयले मङ्गलबार छैटौँ पटक सूचना जारी गरेको छ । 

विद्यालयका प्रधानाध्यापक धननारायण श्रेष्ठले विद्यालयले गत चैत महिनादेखि निमावि तहमा करार विज्ञान शिक्षकको माग गरे पनि हालसम्म पाउन नसकेको गुनासो गर्नुभयो । “सुरुमा विज्ञान विषयको अध्यापन गराउन शिक्षण अनुमतिपत्र (लाइसेन्स) माग गरेका थियौँ, त्यही कारणले पनि शिक्षक नपाएको हुन सक्ने भएकाले लाइसेन्स नभएका शिक्षकलाई पनि पढाउन दिने गाउँपालिकाबाट निर्णय गरेर अनुमतिपत्र नभए पनि हुने भनेर शिक्षकको विज्ञापन गरेका छौँ,” प्रधानाध्यापक श्रेष्ठले भन्नुभयो । 

उहाँले निमावि तहमा विज्ञान विषयको शिक्षक नपाएपछि विद्यालयमा नै काम गर्दै आउनुभएका शिक्षकलाई आग्रह गरेर विज्ञान विषयको कक्षा लिन अनुरोध गरी विज्ञान विषयको अध्यापन गराउँदै आएको बताउनुभयो । उहाँले पछिल्लो पटक एक जना विज्ञान शिक्षकले विद्यालयमा सम्पर्क राखे पनि आउने÷नआउने टुङ्गो भने नभएको बताउनुभयो । 

यस्तै जिल्लाको बेथानचोक गाउँपालिका–१ को चव्रmेश्वर माविमा विगत केही महिनादेखि गणित विषयको शिक्षकको माग भए पनि हालसम्म गणित शिक्षक पाउन सकेको छैन । त्यस्तै गरी यस जिल्लाको धुलिखेल नगरपालिका–११, पात्लेखेतमा रहेको हनुमान माविमा तीन महिनादेखि नगर कोटा अन्तर्गत विज्ञान विषयको आवश्यकता भए पनि हालसम्म शिक्षक पाउन नसकेको विद्यालयले जनाएको छ । 

शिक्षा विकास तथा समन्वय एकाइ काभ्रेका प्रमुख गोकर्णध्वज कार्कीले विगतदेखि नै अनिवार्य गणित, विज्ञान र अङ्ग्रेजी विषयको शिक्षक अभाव हुँदै आएको जानकारी दिनुभयो । उहाँले जिल्लाको खानीखोला, महाभारत, चौँरीदेउराली र भुम्लु गाउँपालिकाका विद्यालयमा लामो समयदेखि यी विषयका शिक्षक अभाव हुँदै आएको बताउनुभयो । “ग्रामीण क्षेत्र भएकाले अनिवार्य गणित, विज्ञान र अङ्ग्रेजी शिक्षक जान नमान्ने भएपछि यी गाउँपालिकाका विद्यालयले पटकपटक शिक्षक आवश्यकताको सूचना जारी गर्नुपर्ने बाध्यता रहेको छ,” एकाइ प्रमुख कार्कीले भन्नुभयो ।

उहाँले शिक्षक सेवा आयोगले विभिन्न तहमा स्थायी शिक्षकको पदपूर्ति गर्दै आएकाले आयोगबाट स्थायी शिक्षक आएपछि आफूले जागिर छोडिहाल्नु पर्छ भनेर केही महिनाका लागि किन जागिर खानुपर्ने भन्ने मनस्थितिका कारण पनि शिक्षक नजाने गरेको बताउनुभयो । “पछिल्लो समय पढेलेखेका युवा विदेश जाने क्रम बढेकाले पनि विषयगत शिक्षक पाउन मुस्किल रहेको छ,” एकाइ प्रमुख कार्कीले थप्नुभयो । 

केही सामुदायिक विद्यालय व्यवस्थापन समिति तथा विद्यालयले विद्यालयमा पढाउन आउने नयाँ शिक्षकलाई विद्यालयको अवस्था कमजोर छ, केही योगदान गर्नु परो भन्दै केही महिनाको तलब विद्यालयलाई नै दिनुपर्ने प्रस्ताव, शिक्षक भर्ना समितिको खर्चसमेत सोही शिक्षकको तलबबाट गर्नुपर्नेलगायतका कारणले समेत करार कोटामा शिक्षण गर्नका लागि शिक्षकले रुचि नदेखाएको पाइन्छ ।