• ३१ वैशाख २०८२, बुधबार

मरिणमा दुईसय ९० घर बिजुलीले झिलिमिली

blog

राष्ट्रिय विद्युत प्रसारण लाइनले दुई दिनअघि जोडिएको मरिण गाउँपालिका –२ को रातमाटा गाउँ । तस्बिर : बाबुराम देवकोटा

बाबुराम देवकोटा

मरिण (सिन्धुली), असोज ११ गते । मरिण गाउँपालिका–२ सिन्दुरेदोभान निवासी नरबहादुर अस्थानीलाई घरमा राष्ट्रिय विद्युत प्रसारण लाइनको बिजुली बाल्ने धोको बल्ल पूरा भएको छ । वर्षाैंदेखि टुकी बत्तीको सहाराले अँध्यारो भगाउँदै आउनुभएका अस्थानीको घर दुई दिनदेखि राष्ट्रिय विद्युत् प्रसारणको बिजुलीले झिलिमिली बनेको छ ।

उहाँले भन्नुभयो, ‘साँझमा धिपधिप बल्ने सोलार बत्ती छ । कहिलेकाहीँ मौसम खराब हुँदा सोलार नबलेपछि टुकी बाल्नुपर्ने बाध्यता थियो । त्यो समस्याबाट मुक्ति पाइएको छ । स्थानीयका अनुसार मरिण गाउँपालिका –२ को रातमाटा, सिन्दुरेदोभान, सिञ्जाली डाँडा, राजवृक्ष, जल्केनीलगायत आधा दर्जनभन्दा बढी गाउँ मङ्गलबारदेखि राष्ट्रिय विद्युत् प्रसारणको लाइनसँग जोडिएको हो । 

वर्षौँको पर्खाइपछि गाउँमा बिजुली बत्ती पुग्दा स्थानीय हर्षित भएका छन् । गाउँमा बिजुली पुग्दा स्थानीय उपभोक्ताले नयाँ युगमा प्रवेश गरेको महसुस गरेका छन् । वर्षौँदेखि ठेकेदार कम्पनीको लापरबाहीले बिजुली बत्ती विस्तारमा ढिलाइ भएको स्थानीयको गुनासो छ । 

वडा कार्यालय र गाउँपालिकाको समन्वयमा स्थानीय उपभोक्ता आफैले झण्डै दुई महिना जनश्रमदान गरेर गाउँमा बिजुली बत्ती पुर्‍याएको वडाध्यक्ष कमलबहादुर आलेमगरले जानकारी दिनुभयो । उहाँले सो वडाका रातमाटा, सिन्दुरे दोभान, सिञ्जाली डाँडा, राजवृक्ष, जल्केनी, ढाडपाखा, बर्खे, हात्तीगौंडालगायतका बस्तीमा रहेका दुई सय ९० घर धुरीले बिजुली सुविधा पाएको बताउनुभयो ।

‘यी गाउँका ६० प्रतिशतभन्दा बढी घरले वायरिङ सकेर बिजुली बत्ती जडान गर्न थालेका छन्’ उहाँले भन्नुभयो, ‘बाँकी घरमा पनि धमाधम वायरिङ हुँदैछ । दसैँ अघिसम्म सबै घरमा बिजुली बल्छ ।’ उहाँका अनुसार ठेकेदार कम्पनीले लापरबाही गर्दा बर्षौँसम्म बिजुलीका पोल र तार बारीमा लडेर बसेको अवस्था थियो । काम सक्न ठेकेदार कम्पनीलाई दबाब दिनुका साथै स्थानीय उपभोक्ताले पनि सँगै श्रमदान गरेका हुन् ।

गाउँमा बिजुली पुगेसँगै विद्यार्थीलाई नयाँ र आधुनिक प्रविधिको प्रयोग गरी पढाउन सजिलो हुने मावि रातमाटाका प्रधानाध्यापक तेजबहादुर गुर्मछानले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बिजुलीको अभावमा स्कुलको कम्प्युटर, आइसिटीका मेसिन वर्षौँदेखि चलाउन असहज भइरहेको थियो । सोलारको भरमा चाहेजति यसको प्रयोग गर्न पाइएको थिएन । अब बिजुली आएको छ । स्कुललाई धेरै सहज हुन्छ ।’ 

मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तानले उक्त गाउँपालिकाको ७० प्रतिशत भूभागमा राष्ट्रिय प्रसारणबाट विद्युतीकरण भए पनि अझै ३० प्रतिशत भूभागमा बिजुली बत्ती बाल्न बाँकी रहेको जानकारी दिनुभयो । दसैँभन्दा अगाडि नै २ नम्बर वडाका अन्य ठाउँमा पनि विद्युतीकरणका लागि तयारी भइरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘दसैँअघि पालिकाको करिब ९० प्रतिशत घरधुरीमा बिजुली बत्ती पुर्‍याउन आफूले मेहनत गरिरहेको छु ।’