• ८ मंसिर २०८१, शनिबार

मनमा सजिएको तस्बिर

blog

फोटो त पर्समै छ 

अहिले पनि

निकाल्छु र हेर्छु बेलाबेलामा 

छौ हृदयमा पनि

सम्झिन्छु र छाम्छु बेलाबखतमा,

म टाढा छु

तिमीभन्दा निक्कै टाढा

केही सपनाहरूलाई थन्क्याएर आफैँभित्र

धेरै रहरहरू पूरा गर्न

तिमीबाट छुटेको पनि त निक्कै भयो ।


एउटा घाइते मन

तापको पीडामा पसिना उमार्दै

कहिले बिगतको दुःखमा उमङ्छ

कहिले आगतको उज्यालोमा रमाउँछ

ठेला उमारेर हातमा

सुदर समयको रङ्गमा रमाउँछ

सोधेर सन्चो बिसन्चो

आफ्नै पीडामा मल्हम लागाउँछ

पानीका लहरहरूरले उसलाई छोई भग्दा

आफू र आफैँसँग डराउँछ

अग्लो महलको माथिल्लो छतमा उभिएर 

तल हेर्दै,

सम्बन्धको गहिराइसँग आत्तिन्छ

तिमीसँगको साथ छुटेदेखि नै त हो

यस्तै हुन थालेको पनि ।


एक्लो कोठामा कहिले

बाँदल छाउँछ

कहिले पसिना उमार्छ

त्यही कोठाले

शून्यताहरू भूगोलको सीमा नाघेर

उतै आफ्नै आँगनमा पुग्छ कहिले

जहाँ स्थगित सपनाहरू

प्रस्रवको यातनामा छट्पटाइ रहेको देख्छ

यता मेरो आकाश 

झरीमा रूझेर सधैँ रोइरहन्छ

निस्तेज समय

बाध्यतताको पर्खालमा घोप्टिएर चिच्याउँछ

आर्तनाद सुन्ने कानहरू 

उसले उतै छोडेर आएको धेरै भयो

यता त केवल आदेश चल्छ

समय बिक्छ

अँ साँच्चै,

एउटा कुरा सोध्न मन लाग्यो

तिम्रो हातको पर्सभित्र

मेरो फोटो छ  छैन । 


इलाम