गाडिँदैछन् रङ्गीन सपनाहरू चिहानमा
उसै गाडिँदैछन् बुढ्यौलीको चाउरीसँगै
समेटेका अनुभवका पुन्तुराहरू
कुहिँदै, गल्दैछन्
सुगठित युवा शरीरका पौरखी पाखुराहरू
निसास्सिरहेछन् अबोध चञ्चलताहरू
अँध्यारो भविष्यको गर्तमा ।
मुर्झाइरहेछन् फक्रन लागेका वासन्ती फूलहरू
जलिरहेछन् भित्रभित्रै मुटु कलेजा द्रुत गतिमा
मस्तिष्कबिनाको कङ्गाल खोपडी जस्तै
बेहोस, किंकर्तव्यविमूढ छन् सजीव टाउकाहरू
कुर्दै तिनका अन्तिम घडी
चुस्दै तिनका रगत, लुछ्दै तिनका मांशपिण्ड
मोटाइरहेछन् लासमा रजाइँ गर्ने अघोरीहरू ।
भागिरहेछन् दौडन सक्नेहरू सामुद्रिक सीमा पार
बाँचिरहेछन् हुकुमी दासता अर्कैको माटोमा
देशभक्तिको बैसाखी टेकेर कोही खोच्याउँदै खुट्टा
सुम्सुम्याउँदैछन् आफ्नै पखेरीको भित्ता आली
छरेर बिउ स्वप्नील समृद्धिको
फलाउन खोजिरहेछन् आफ्नै माटोमा सुन ।
पर्खिरहेछन् दोबाटोमा पासो बिछ्याएर
हिटलर र मुसोलिनीहरू
छानी छानी हत्या गर्न सजीव सपनाहरू
लुट्दैछन् रगत पसिनाले जम्मा गरेको जनताको ढुकुटी
बेवास्ता गर्दैै रोईकराई, हाहाकार गर्ने निर्धालाई
हिर्काउँदै बेथिति र लुटतन्त्रको कोर्राले
पुर्दै छन् जिउँदै तिनलाई
निराशाको सामूहिक चिहानमा ।
सिरानचोक–४, गोरखा