औँसी–रातसमान पो हुन गयो बुढो अँध्यारो वय ।
बढ्दैछन् अवहेलना घरघरै भन्दैन कोही जय !!
तन्नेरीपन चन्द्ररात उजिलो उत्साह औ हार हो ।
यो बुूढोपन पुुत्रपौत्र गणको निन्दा तिरस्कार हो ।।
लाग्छन् रोग अनेक वृद्ध वयमा, सन्तानको भार भै ।
ज्युँदो लास बनेर बाँच्न नपरोस्, बेकामको झार भै ।।
आम्दानी पनि छैन सम्पत्ति कुनै, आर्जेर राख्नै सकेँ ।
माग्ने हात फिँजाउँदै अवनिमा, वाक्बाँण धेरै खपेँ ।।
आफ्नै थातथलो र सन्तति सबै टाढा बिराना बने ।
नाता इष्ट र मित्रका हृदयमा आत्मीयता वैलिए ।।
बुढो जीवन जेल बन्दछ घरै, हप्काउने छन् बढी ।
खोक्दा नातिपनाति डिस्टब भयो भन्दै उठाए छडी ।।
केके औषधि खानुु पर्छ दिउँसो सन्ध्या तथा प्रातमा ।
बिर्सी गड्बड हुन्छ सोधुुँ त भने छैनन् कुनै साथमा ।।
गन्धा छन् कपडा शरीर र जुुँघा दाह्री बढे कुुन्तल ।
भन्छन् फुुर्सद छैन भोलि गरुँला, आउन्न पालो पल ।।
औँला झम्झम गर्छ कम्मर दुुःखी पोल्दैछ पाता अहो !
जङ्घा कर्कर खान्छ हिँड्न नसकी यो जिन्दगी भोर भो !!
एक्लो जीवन बाँच्न सङ्कट भयो, हे कृष्ण हे माधव !
हे प्यारा हरि दुुःख झट्ट हरिद्यौ, गर्दैछु तिम्रो जय ! !