• १५ वैशाख २०८२, सोमबार

अपिनाम्पा संरक्षण योजना अलपत्र

blog

दार्चुला समाचारदाता

दार्चुला, असोज ९ गते । दार्चुलाको अपिनाम्पा संरक्षण क्षेत्र चार वर्षदेखि परिषद्विहीन अवस्थामा छ । २०६७ साल असार २८ गते साबिकका २१ गाविस समेटेर घोषणा गरिएको अपिनाम्पा संरक्षण क्षेत्रमा परिषद् गठन नहुँदा कामकाज प्रभावित हुँदै आएको छ ।

परिषद् गठनका लागि राजनीतिक दल, जनप्रतिनिधि र सरोकारवालाबिच छलफल भए पनि सहमति हुन नसक्दा परिषद् गठनमा ढिलाइ हुँदै गएको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयका सूचना अधिकारी इन्द्रसिंह नगारीले जानकारी दिनुभयो । 

गत साउनमा स्थानीय तहका अध्यक्ष/प्रमुखसहितको बैठकमा परिषद् गठनबारे सकारात्मक छलफल भएको थियो । अपिहिमाल र व्यास गाउँपालिकाबाट दुई/दुई जना र मार्मा, नौगाड, दुहुँ गाउँपालिका र महाकाली नगरपालिकाबाट एक/एक सदस्य गरेर आठ सदस्य चयन गर्ने सहमित जुटेको बताइएको छ । 

विगतमा संरक्षण परिषद्का साथै २५ वटा स्थानीय उपभोक्ता समिति गठन भएका थिए । अपिनाम्पा संरक्षण क्षेत्रका १७ गाविसमा एक/एक र बढी प्रभावित साबिकका घुसा, खण्डेश्वरी, व्यास र राप्ला गाविसमा दुई/दुई समिति सक्रिय थिए । 

अहिले परिषद् गठन नहुँदा जनताको काम गर्न समस्या भएको छ । परिषद् गठन नहुँदा सबै काम कार्यालयले गर्नु परेको कार्यालयका सूचना अधिकारी नगारीले बताउनुभयो । सरकारले नेपाल–चीन–भारत सीमावर्ती क्षेत्रको नेपाली भूभाग तथा वनजङ्गल र वन्यजन्तुको संरक्षण गर्न संरक्षण क्षेत्र घोषणा गरेको थियो । 

संरक्षण क्षेत्रलाई अझै व्यवस्थित गर्न अपिनाम्पा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् गठन गरिएको थियो । परिषद्को पहिलो पाँच वर्षीय कार्यकाल २०७६ सालमै सकिए पनि त्यसयता परिषद् गठन हुन सकेको छैन । 

भारत र चीनसँग सीमा जोडिएको एक हजार ९०३ वर्ग किलोमिटर फराकिलो सो क्षेत्रलाई संरक्षित क्षेत्रमा समेटिएको छ । परिषद् गठन भयो भने संरक्षण क्षेत्रलाई अझै थप व्यवस्थित र प्रभावकारी बनाउन सकिने कर्मचारी बताउँछन् । संरक्षण क्षेत्रभित्र अपिहिमाल, मार्मा, नौगाड, दुहुँ, व्यास गाउँपालिका र महाकाली नगरपालिका पर्छन् । त्यसमा स्थानीय तहका जनप्रतिनिधि र राजनीतिक दलबिच भएका छलफलले मूर्तरूप लिन नसकेपछि अहिलेसम्म परिषद् गठन कार्य अघि बढ्न नसकेको हो । 

संरक्षण क्षेत्रको व्यवस्थापन र प्रभावकारी कार्यान्वयनका लागि परिषद् गठन आवश्यक भएको अपिनाम्पा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का निवर्तमान अध्यक्ष चक्रसिंह ह्याकीको भनाइ छ । “चोरी सिकार नियन्त्रणमा संरक्षणमा समितिले ध्यान दिएको थियो,” उहाँले भन्नुभयो, “अहिले परिषद् नै नभएपछि सबै समूह, समिति निष्व्रिmय भएका छन् ।” 

सात हजार १३१ मिटर उचाइमा रहेको अपि हिमाल, छ हजार ७५७ मिटरको नाम्पा र छ हजार ६७० मिटर अग्लो व्यास हिमाल अपिनाम्पा संरक्षण क्षेत्रभित्र पर्छन् । दर्जनौँ प्रजातिका जनावर, चराचुरुङ्गीको बासस्थान रहेको संरक्षण क्षेत्रमा धार्मिक र सौन्दर्य पर्यटनका थुप्रै सम्भावना छन् ।