वस्मृतिका अनन्त टुक्राटाक्रीहरू
मानौँ मेरा झुत्रा लुगाहरू
मेरो आकाशभरी बादलका टुक्राहरू झैँ
यताउती यताउती सलबलाई रहन्छन्...
डिम्निसियाको आतङ्कले
थाहा छैन
यसलाई कहिले सोहरेर लैजाने हो
चैत वैशाखको हुरीमा
बेला–कुबेला बार बार यो केको बाडुली हो ?
बेमौसमको चट्याङको मिलिक मिलिक प्रकाशमा
मानौँ मलाई चियाउन आउँछिन् मेरी मृत आमा
एउटा दन्त्य कथामा झैँ...
हो मेरी मृत आमा
थकित र पीडित !
मेरा दाजु र दिदीहरूलाई हुर्काउन
र मलाई पनि
बिचरी कसरी आफूलाई धन्न ढल्न दिइन् ।
अनन्त दिन र रातको फेरो
पटुकासरी बेरिएको आफ्नो पातलो कम्मरको भरमा...
हो, त्यही फेरोमा आमालाई पिरोली यदाकदा त्यहीँ म झुन्डिरहेको...
दिन र रातका अनन्त पहिरोमा
सम्झनाका यी टुसाहरू
किन पुरिएन होला !!
किन कच्याककुचुक निमोठिएन होला ।।।
काठमाडौँ