• १९ वैशाख २०८१, बुधबार

शृङ्गार (कथा)

blog

पल्लवीलाई भोजको निम्ता आयो कि, ब्युटिपार्लरमा सिँगारपटार नगरीकन चित्तै बुझ्दैनथ्यो । हुन त प्रकृतिले नै उनलाई सुन्दरी बनाएको थियो । सिँगारपटार नगर्दा पनि । उनका श्रीमान् उनलाई भन्ने गर्थे “तिमीलाई सिँगारिन कतै जानै पर्दैन, तिम्रा केशराशी त कालो बादल जस्तै छ, गाजलु ती आँखामा गाजलको आवश्यकता नै छैन्, तिम्रा गालामा त प्रातः कालको अरुणोदय छाएको छ, तिम्रा ओठमा रातो गुलाबको रङ छ ।” यसो भन्दा उनी हाँस्थिन् र भन्ने गर्थिन् उमेरमा नगरेको शृङ्गार के बुढी भएपछि गर्ने त । 

विचरीलाई ब्युटिपार्लर जाने बाध्यता पनि थियो । उनका साथीहरू पनि त्यस्तै थिए, नत्र छुच्ची भनेर आरोप लगाइहाल्थे । राम्रो ब्युटिसियनको हातमा प-यो भने त मुहारमा चमक र नराम्री पनि राम्री बनेर पार्लरबाट निस्किन्थे । 

    श्रीमान् बिहान बेलुका दुःख गरेर कमाउँथेँ । उनको आफ्नो फजुल आवश्यकता कुनै थिएन । श्रीमान् सादा विचारका धनी । यसरी पैसा खर्च हुँदा उनलाई राम्रो लाग्दैनथ्यो । तर श्रीमतीको इच्छाविरुद्ध जान पनि उनलाई सहज थिएन । पल्लवीले यो कुरा बुझेकी थिइन् । तर आफन्त र साथीहरूबिच उनलाई पनि फुइँ गर्न मन लाग्थ्यो । मन पनि अचम्मको छ, एक मनले नगरूँ नगरूँ भन्दाभन्दै पनि अरूको देखासिकी गर्न मन लागिहाल्ने । ब्युटिपार्लरको नशा पनि अचम्मकै हुने । पल्लवी त पहिले आँखीभुइँ पनि नमिलाउने, सङ्गत गुनाको फल भने झैँ, अचेल त आँखामा परेली हाल्नेदेखि लिएर हातका औँलामा कृत्रिम नङ पनि हाल्ने भएकी थिइन् । उनमा आएको परिवर्तन पनि अचम्मकै थियो ।

एक पटकको कुरा हो । पल्लवीको साथीको विवाहको पार्टी थियो । उनी ब्युटिपार्लरमा सिँगारिन गइन् । गहनादेखि लुगासम्म ब्युटिसियनले लगाइदिने भयो । उनी भोजमा जानको लागि दिउँसो पार्लर गइन् । उनीलाई सिँगारिन घण्टाँै लाग्यो । उनी बेलुकीको साढे सात बजे ब्युटिपार्लरबाट बाहिर निस्किन । अनि सोझै विवहा स्थल गइन् तर त्यहाँ त सुनसान थियो । दुलही अन्माएपछिको ता थियो । उनी पहिला त जिल्ल परिन् । बेलुकी पाँच बजे नै साथीलाई त अन्माइसकिएको थियो । पल्लवीले सिँगारिने क्रममा दुलही अन्माउने समयको ख्यालै गर्न बिर्सिइन् । उनले गरेको शृङ्गार देखाउनुपर्ने कसैलाई पनि देखाउन पाइनन् । पार्टी प्यालेसको ऐनामा आफ्नो शृङ्गार आफैँ हेरेर घर फर्किइन् । पल्लवीको जीवनमा शृङ्गार मोहले ब्युटिपार्लर जाँदा यस्ता थरीथरीका थुप्रै घटना धेरै पटक घटेको थियो । 

त्यसरी नै अर्को पटक उनलाई श्रीमान्सँग एउटा ठुलै पार्टीमा जानु थियो । त्यो पटक सहरमा नाम चलेको महँगो ब्युटिपार्लरमा उनी सिँगारिन गइन् । अब त उनी त्यस्तो ब्युटिपार्लरमा जाने हैसियतको भइसकेकी थिइन् । पल्लवीको भाग्योदय नै भएको थियो । आम्दानीको बाटो राम्रो थियो । छ महिनाअघि मात्र उनी आमा पनि बनेकी थिइन् । धेरै वर्षअघिको सन्तानको चाहना बल्ल पूरा भएको थियो । 

उता भने घरमा छोडेर आएको छोरो भोकाउन थालेको थियो । ब्युटिपार्लरले धेरै नै समय लिइरहेको थियो । पार्लरमा रहँदारहँदै एक्कासि उनको छाती रसाउन थाल्यो । दुध पग्रिन थाल्यो । दुध बगेर पार्टीमा लगाएर जाने ब्लाउज पूरै भिज्यो । सारीसँग मिलाएर लगाएको ब्लाउजमा दुधको सेतो टाटो बस्न थाल्यो ।

उनी हतार हतार घर फर्किन । घरमा भोकाएर छोरा रोइरहेको थियो । उनले घर पुग्नेवित्तिकै काखमा राखेर आफ्नो छातीको दुध छोरालाई चुसाउन थालिन् । भोकाएर रोइरहेको बालक आमाको स्तन पाएर चुस्न थाल्यो । उनको छाती पनि हल्का भयो । छोराको भोक पनि विस्तारै मेटिँदै थियो । नाबालक छोराले आफ्नो हातको मुठीले ब्युटिपार्लरमा सजाएर आएको कपाल समायो । पल्लवीले आफ्नो हातले  छुटाउन कोसिस गरिन् । उसले यति बलियो मुठीले कपाल समाएको थियो । उनले कति प्रयत्न गर्दा पनि छुटाउन सकिनन् । उनको केही सीप लागेन । 

पल्लवीको तलासिएको केशराशी नै भताभुङ्ग भयो । उनको कपालको जरासमेत दुःखेर आयो । तर पनि छोराले उनको कपाल छोडेन । आखिरमा टाउकोमा हालिएको नक्कली जुरो उनको टाउकोबाट तल झ¥यो । भोजमा जान उनको शृङ्गार पनि छोराले भताभुङ्ग बनाउन थाल्यो । उनलाई एकदम रिस उठ्यो । तर के गर्नु बल्लबल्ल कति उपायले जन्मिएको त्यो शिशुलाई उनी के नै गर्न सक्थिन र ? ठुलो मानिसले गरेको भए घरमा रडाको नै मच्चिन्थ्यो ।

पल्लवीको श्रीमान् पार्टीमा जान पल्लवीलाई लिन आए । श्रीमतीको कपाल लथालिङ्ग थियो । यो देखेर उनी जिल्ल परे । उनले के भयो भनेर सोधे । धनले पनि छोराको कमाल बताइदिइन् । 

पल्लवीले भने आज शृङ्गार बिग्रिएको र साडीसँग मिलाएको ब्लाउज पनि फोहोर भएकाले पार्टीमा नजाने निधो गरिन् । श्रीमान्ले धेरै सम्झाए । उनको हठ जति सम्झायो उति बढ्दै थियो । उनको जिद्दी अगाडि श्रीमान्को केही सिप लागेन । श्रीमान् उनीबिच झगडा नै प-योे । दुवैले एक आपसलाई दोषारोपण गर्न थाले । उनीहरूको झगडाले ठुलै रूप लिन थाल्यो । उनीहरूले होस नै गुमाउन थाले । धेरै बेर ता छायो । अन्त्यमा श्रीमान्ले फेरि धेरै सम्झाए बुझाएपछि उनले आफ्नो बिग्रिएको शृङ्गार केही सपारिन् । जुरो भने बनाउन सकिनन् । जुरो बनाएर भोजमा सिँगारिएर जाने उनको रहर रहरै भयो । यसले गर्दा उनी कत्ति पनि खुसी थिइनन् तर पनि भोजमा जान तयार भइन् ।

पल्लवीको प्रसन्न मुद्रा थिएन । आजको शृङ्गारले उनको पैसा मात्र बर्बाद बनायो । श्रीमान् श्रीमती बाटामा जाँदै थिए । त्यही बखत दिउँसो पार्लरमा भेटिएकी एक महिलाले उनीलाई देखिन् । उनी पनि पार्लरबाट भर्खरै शृङ्गार सकेर निस्किएकी थिइन् । पल्लवीलाई देख्नेवित्तिकै उनी छक्क परिन् । बिहान त्यत्रो मेहनतले बनाइएको जुरो उनको टाउकोमा थिएन । आँखामा हालिएको परेली थिएन । उनले तुरुन्तै सोधिन्, “तपाईंलाई अघिको शृङ्गार मन परेन ? हुन त यो पनि कम त छैन । तपाईंलाई सुहाएको छ ।” उनको सुहाएको भन्ने शब्दले जलेको मनमा शीतलता प्रदान ग-यो । श्रीमान् पनि प्राकृतिक शृङ्गार कहिले पनि बनाबटीभन्दा कम सुन्दर हुन सक्दैन भन्दै मुस्कुराए । उनी पनि श्रीमान्सँग मुस्कुराउँदै अघि बढिन् ।