पीडितबहादुर र राहतबहादुर सानैदेखिका मिल्ने साथी थिए । पीडितबहादुर गाउँमा नै केही गरेर बस्नु पर्छ भन्ने मान्यता राख्थे । राहतबहादुरको समाज सेवामा रुचि थियो । समय बित्दै गयो पीडितबहादुरलाई गाउँको मायाले छाडेन, राहतबहादुर सहर छिरेर समाज सेवामा सक्रिय हुन थाल्यो ।
दुवैको घरजम भयो । छोराछोरी भए । एक दिन पीडितबहादुरलाई अनायासै प्राकृतिक विपत्ति आइलाग्यो । गाउँमाथिबाट आएको पहिरोका कारण उसले आफ्नो प्यारो परिवार मात्र गुमाएन, छरछिमेक अनि सबैभन्दा माया लागेको गाउँ नै गुमायो । कालले उसलाई लान सकेन कसो कसो ढुङ्गाको कापमा परेर बाँच्न सफल भए ।
त्यसपछि बनेको खण्डहर गाउँमा राजनीतिज्ञ, समाज सेवी, पत्रकार, राष्ट्रिय अन्तर्राष्ट्रिय सङ्घसंस्थाका मानिसहरू आउन थाले । सारा संसारका सहरहरूमा राहत सङ्कलन सुरु भएको समाचार सुनियो । पीडितबहादुरको अन्तर्वार्ता टेलिभिजनमा प्रसारण भयो, रेडियोमा वाइट्स बज्यो । पत्रिकाहरूमा उनकै फोटोको साइज ठुलो थियो सञ्चार माध्यममा ऊ हार्ड न्युज बन्यो, सफ्ट न्युज बन्यो, फिचर बन्यो ।
प्रत्येक जिल्लाका सहरहरूबाट सिडियो हुँदै प्रधानमन्त्री समक्ष पुगेको राहत लिएर हेलिकोप्टर उसको गाउँमा आयो । सारा गुमाएकामा उसले भाग्यलाई दोष दियो । जे भए पनि अब राहत लिएर बाँच्ने र पुनः जिन्दगीलाई अगाडि बढाउने बारेमा सोच्यो ।
पीडितहरूको लाइन कोरिया जाने युवाको जति नै थियो, जसमा किर्ते पीडितहरू पनि थिए, ऊ बस्यो । उसको हातमा राहत आइपुग्यो समय गुज्रेको एक प्याकेट चाउचाउ र थोरै चिउरा । संयोगले राहत वितरण गर्ने टोली प्रमुख उही समाज सेवी राहतबहादुर रहेछ ।
त्यसपछि ऊ वैरागियो र सहर पस्यो ऊ पुरानै साथी राहतबहादुर कहाँ पुग्यो । राहतबहादुर समाज सेवी भएकाले खासै आम्दानीको स्रोत थिएन त्यही पनि साथी भनेर ऊ शरण लिन पुगेको थियो । बल्ल उसले थाहा पायो । बुढापाकाहरूले भनेको नाम अनुसारको काम ठिकै रहेछ । राहतबहादुर पुरानो एकतले घर भत्काएर ५ तले गगनचुम्बी घर बनाइरहेको थियो ।
कटारी, उदयपुर