• ११ मंसिर २०८१, मङ्गलबार

मनै लोभ्याउने मनाङको ताल गाउँ

blog

मनै लोभ्याउने मनाङको ताल गाउँ । तस्बिर: यदु

मनाङ, असोज ७ गते । मनाङको प्रवेशद्वार ताल गाउँ । ताल गाउँमाथि डाँडामा मनै लोभ्याउने झरना । मर्स्याङ्दी नदीको किनारैमा रहेको गाउँलाई दुई झरनाको बिचबाट कलकल झरेको पानीले अझै सुन्दरता थपिएको छ । जिल्ला प्रवेश गर्नासाथ एकसाथ झुरुप्प बनेर बसेको ताल गाउँ र झरनाले स्वागत गर्छ । ताल गाउँको सुन्दरताको रूपमा रहेको दुई झरनाले जिल्ला प्रवेश गर्नासाथ स्वागत गरेको आभास हुन्छ । 

दुई झरनाको माथि डाँडाकाँडा र हरियाली वन जङ्गल । यहाँको वातावरणले मनै लोभ्याउँछ । पछिल्लो समय मनाङको पर्यटकीय गन्तव्य बन्दै गएको छ दुई झरना । ताल गाउँको माथि चट्टानी काँप बाट शीतलता दिँदै जोडले तल झरेको झरनाको नाम नै ताल झरना रहेको छ ।

मनाङ प्रवेश गर्ने जो कोहीलाई पनि यी सुन्दर झरना र यहाँका बस्तीले आकर्षित गर्छ । पर्यटकलाई स्वागत गर्ने यी झरना अहिले स्थानीय युवासँगै यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । ताल गाउँ पुगेपछि यस झरनामा फोटो, भिडियो र यहाँको पानीसँग नखेलेसम्म यहाँबाट कोही पनि बाहिरिने गर्दैनन् । यो सुन्दर झरनाबाट झरेको पानी मर्स्याङ्दी नदीमा मिसिन्छ ।

झरनाको प्रचारप्रसार भएसँगै दैनिक यसको अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या पनि बढ्दै गएको स्थानीयवासी बताउँछन् । अहिले झरनासम्म सडक पुगेकाले पनि अवलोकन गर्ने पर्यटकको सङ्ख्या बढ्दै गएको हो । होटेल व्यवसायी अन्जु तामाङले होटेलमाथिबाट झरनाको पानी खसिरहेको देखिने भएकाले टिकटक, भ्लग बनाउने युवाको लर्को नै लाग्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘मेरो होटेल माथिबाट झरनाको पानी झरिरहेको जस्तो देखिन्छ भन्दै होटेलको आगनमा धेरैले टिकटक बनाएका छन् ।’

नासो गाउँपालिका–१ का वडाध्यक्ष मीनराशी गुरुङले यहाँको झरनाको पूर्वाधार निर्माण गर्नु आवश्यक रहेको बताउनुभयो । पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको अवस्थामा यहाँको पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । वडाध्यक्ष गुरुङले भन्नुभयो– ‘यहाँको पर्यटकीय क्षेत्रका रूपमा विकास र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्न समन्वय गरिरहेको छु, प्राकृतिक स्रोतको उपयोग गरी आयआर्जनसँग जोड्ने गरी विकास गर्न आवश्यक रहेकाले सोही अनुसार काम गर्ने लक्ष्य लिएका छौँ ।’

केही वर्ष अगाडि झरनामा आउने पर्यटकका लागि खाने बस्ने ठाउँको अभाव थियो । तर झरना नजिकै सडक पुगेसँगै बजार विस्तार हुन पनि थालेको छ । २०७८ असारको बाढीपछि ताल गाउँ बिस्तारै पर्यटकको आकर्षणको केन्द्र बिन्दु बन्दै गएको छ । पर्यटकका लागि यहाँ होटलहरु पनि खुलिसकेका छन् ।

पिसल्यान्ड होटेलका सञ्चालक गुरु गुरुङले झरनामा रमाउन आउने पर्यटकका कारण आफूहरूको व्यवसायलाई सहयोग पुग्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘बाह्य पर्यटक त पदयात्रामा आउने भएकाले यहाँ बस्दा झरनामा रमाउँछन् नै, तर झरनामा रमाउनकै लागि आन्तरिक पर्यटक आउने गरेका छन् ।’

ताल गाउँ एकीकृत बस्ती जस्तै गरी बनेकाले अझ बढी आकर्षण बढेको छ । यहाँ वर्षभर नै यस्तै पानी झरिरहने भएकाले यस झरनामा रमाउन आउनेको सङ्ख्या बढ्दै गएको स्थानीय कोपिला गुरुङले बताउनुभयो । यहाँ आउने पर्यटकले यहीँ उत्पादित खाद्यवस्तु नै खान माग गर्ने उहाँले बताउनुभयो । यसले गर्दा पनि यहाँको झरनाको प्रचारप्रसार गर्नु आवश्यक रहेको उहाँको भनाइ थियो ।

झरनामा रमाउन आउने पर्यटकले ताल गाउँको प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा यहाँका स्थानीयवासीले लिएका छन् । झरना जस्तै स्वच्छ तवरबाट पर्यटकलाई स्वागत र सत्कार गर्दा अझै आकर्षित गरेको बताउने गरेका छन् । 

Author

यदुप्रसाद भट्ट