दार्चुला समाचारदाता
दार्चुला, असोज ५ गते । मालिकार्जुन गाउँपालिका–४, ऐरिछानाका ७० वर्षीय धुमा धामी ज्येष्ठ नागरिक भए पनि गाउँ नजिकैको मुहान (नौलो) बाट बोकेर पानीको जोहो गर्नुहुन्छ । उमेरले डाँडा काट्न लाग्दासमेत पिठिउँको भारी बिसाउन सक्नुभएको छैन । खानेपानीको अभावमा आफ्नो पिठ्युँको भारीबाट कहिलै मुक्ति नपाएको गुनासो उहाँको छ । “खान लाउनभन्दा पानीको निकै दुःख भयो,” उहाँले भन्नुभयो, “कहिले आउला र घर घरमा पानीको धारा, अब मरेपछि ।”
ऐरिछानाकै भुवनसिंह धामी पनि बिहान बेलुका दैनिक रूपमा टाढाको मुहानबाट पानी बोकेर विद्यालय जानुपर्ने बाध्यता रहेको बताउनुहुन्छ । “घरमा धारा छैन, गाउँमा पाइप पुगेको भए पनि पानी आउँदैन,” शङ्करपुर मावि पस्तीमा कक्षा १२ मा अध्ययनरत धामीले भन्नुभयो ।
बिहान बेलुकी टाढाबाट पानी बोक्नुपर्ने भएकाले पढाइ र घरको अन्य कामसमेत प्रभावित हुने गरेको विद्यार्थीले बताएका छन् । गाउँकै खान माविमा कक्षा ५ मा अध्ययनरत दीपिका धामीले खानेपानीको जोहो गर्न सास्ती भोग्नु परेको बताउनुभयो ।
विद्यार्थी र परिवारका अन्य सदस्यले पिउन र बस्तुभाउका लागि दैनिक चार÷पाँच पटक मुहानबाट गाग्री र जारमा पानी बोक्नुपर्ने बाध्यता रहेको छ । नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने छ भनी स्पष्ट व्यवस्था गरिएको छ । तर पनि दार्चुलाका अधिकांश गाउँबस्तीमा खानेपानीको समस्या छ । दार्चुला सदरमुकाम खलङ्गासहित विभिन्न स्थानीय तहका गाउँ गाउँमा स्थानीयले वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आइरहेका छन् ।
यहाँको मालिकार्जुन, शैल्यशिखर, लेकमलगायत स्थानीय तहमा सुक्खायाममा खानेपानीको हाहाकार हुने गरेको छ । बर्सातको समयमा पनि टाढाबाट बोकेर खानेपानीको व्यवस्था गर्नुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ । अहिले मुहानबाट बोक्न त पानी पाइन्छ, लेकमका स्थानीय दिलेन्द्र भट्टले भन्नुभयो, “फागुन÷चैत सुरु भएदेखि खानेपानीको चरम अभाव हुने गरेको छ । खानेपानी समस्याका कारण बालबालिकाको पढाइ र घरका सबै सदस्यको अन्य काम प्रभावित हुने गरेको छ ।”