• ११ असोज २०८१, शुक्रबार

संविधानले शान्ति, सुशासन र विकासको मार्गचित्र कोरेको छ : प्रदेश प्रमुख

blog

संविधान दिवस २०८० मूल समारोह समिति बागमती प्रदेशको आयोजनामा हेटौँडामा बुधबार भएको कार्यक्रममा सहभागी बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा, मुख्यमन्त्री शालिकराम जम्कट्टेल र पूर्व मुख्यमन्त्री डोरमणि पौडेल । तस्बिरः राममणि दाहाल

राममणि दाहाल

हेटौँडा, असोज ३ गते। बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले वर्तमान संविधानले दिगो शान्ति, सुशासन र विकासको मार्गचित्र कोरेको बताउनुभएको छ।

संविधान दिवस एवं राष्ट्रिय दिवस २०८० को अवसरमा संविधान दिवस २०८० मूल समारोह समिति बागमती प्रदेशको आयोजनामा हेटौँडामा बुधबार भएको कार्यक्रममा प्रदेश प्रमुख शर्माले लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली निर्देशित शासन व्यवस्थामार्फत् दिगो शान्ति, सुशासन र विकासको मार्गचित्र कोरेको बताउनुभएको हो।

उहाँले नेपालको संविधान २०७२ ले न्याय, समानता र जनजीविकाको हक स्थापित भएको बताउँदै यही संविधानले केन्द्रीकृत एकात्मक राज्य व्यवस्थाले सिर्जना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गरिदिएको बताउनुभयो।

संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक एवम् भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा हजारौँ फूलको एउटै मालाको रूपमा गुथेर राखेको प्रदेश प्रमुख शर्माले भन्नुभयो यस सन्दर्भमा सङ्घीयता, गणतन्त्र तथा धर्मनिरपेक्षता यो संविधानले उपलब्ध गराएका नेपाली जनताका निधि हुन् र भावी पुस्ताका धरोहर पनि हो।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले संविधानमा व्यवस्था भएअनुसारको अधिकार प्रदेशले पाउनुपर्ने भन्दै वर्तमान संविधानको कार्यान्वयनबाट समृद्धि र समाजवादसम्म पुग्न सकिने बताउनुभयो। उहाँले नेपालमा कार्यान्वयनमा रहेको सङ्घीयता अन्यत्रको भन्दा फरक विशेषता रहेको बताउँदै पहिचानसहितको संविधान बनेको बताउनुभयो।

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले नागरिकको विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने गरी नेपालको संविधान बनेको बताउनुभयो। कार्यक्रमअघि विभिन्न जातजाति, समुदायको झाँकी र बाजा, नेपाल प्रहरी, नेपाली सेनाको व्याण्ड बाजासहित हेटौँडाको बुद्धचोकबाट निस्किएको र्‍याली मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय परिसरमा पुगेको कार्यक्रममा परिणत भएको थियो।