धनगढी समाचारदाता
धनगढी, असोज ३ गते । कैलालीका राजनीतिकर्मी गणेश ढकालको कृषिप्रति मोह बढेको छ । लम्कीचुहा नगरपालिका–१ निवासी ढकालले राजनीतिसँगै कृषि पेसामा सक्रियता बढाउदै आउनुभएको छ । उहाँले लम्कीमै ड्र्यागन फ्रुट खेती गरिरहनुभएको छ ।
आफ्नै पाँच कट्ठा जमिनमा रोपेको ड्र्यागन अहिले लटरम्म फलेको छ । “अहिलेसम्म आठौँ लट ड्र्यागन टिपेर बिक्री गरिसकेँ,” उहाँले भन्नुभयो, “राजनीतिकर्मी भए पनि म भाषण गर्दैन, काम गर्छु ।” ढकाल नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) एवं सोही पार्टीको उत्पादन विभागका केन्द्रीय सदस्य हुनुहुन्छ । मुलुकमा समाजवाद ल्याउनका लागि अबको क्रान्ति उत्पादन हुनुपर्ने आफ्नो पार्टीको जोडले उहाँलाई ड्र्यागन फ्रुटको काँडा र हिलोमाटोसँग खेल्ने बनायो ।
अहिलेसम्म साढे तीन क्विन्टल ड्र्यागन फ्रुट बिक्री गरिसकेको उहाँले बताउनुभयो । अर्गानिक तरिकाबाट खेती गरी उत्पादित ड्र्यागन यो वर्ष प्रतिकेजी ५५० रुपियाँमा बिक्री भइरहेको छ । सुरुमा प्रतिकेजी ८०० रुपियाँमा बिक्री भएको थियो ।
ड्र्यागन फ्रुट बिक्री गर्न कुनै समस्या नरहेको जनाउँदै उहाँले माग धान्न नसकेको बताउनुभयो । “मैले धनगढी, महेन्द्रनगर, अछाम र काठमाडौँ सिधै उपभोक्तालाई ड्र्यागन फ्रुट बिक्री गरिरहेको छु,” ढकालले भन्नुभयो, “माग अत्यधिक छ तर पु¥याउन सकिरहेको छैन ।”
ड्र्यागन फ्रुटको खेतीलाई करिब चार/पाँच सय मान्छेले अवलोकन गरिसकेका छन् । पाहुना आउँदा स्वागत सम्मानमा मात्रै ६४ केजी ड्र्यागन फ्रुट खर्चेको ढकालले सुनाउनुभयो । ड्र्यागन खेतीलाई एग्रो टुरिजमका रूपमा विकास गर्नमा उहाँले जोड दिनुभएको छ । यसै वर्ष लम्कीमै १० कट्ठा जमिनमा ड्र्यागन खेती विस्तार गर्ने तयारीमा हुनुहुन्छ ।
यसै गरी निकट भविष्यमा ग्रिन हाउस बनाउने पनि योजना रहेको छ । “राजनीतिक आस्था र विचारधाराका हिसाबले म कुनै पार्टीमा आबद्ध रहे पनि उत्पादनलाई नै प्रमुख मानेको छु,” ढकालले अगाडि थप्नुभयो, “गरे, स्वदेशमा पनि सम्भव छ है भन्ने संस्कार युवा पुस्तालाई दिनका लागि पनि उत्पादनमा मेरो जोड छ ।”
उहाँले उत्पादनलाई जोड दिँदै २०७८ कात्तिकमा ८०० ड्र्यागनका बोट लगाउनुभएको थियो । छ/सात लाख रुपियाँ लगानीमा गरिएको खेतीबाट गत वर्षदेखि नै लाभ लिइरहनुभएको छ । ढकालले रोपेको ड्र्यागन १० महिनामा फलेको थियो ।
विषादीरहित बनाउने उद्देश्यका साथ कम्पोस्ट, गड्यौला र आफूले नै उत्पादन गरेको झोल मल ड्र्यागन खेतीमा प्रयोग गरिरहेको ढकालले जानकारी दिनुभयो । उहाँले ड्र्यागनका बिरुवासमेत उत्पादन गरेर बिक्री गरिरहेको उल्लेख गर्नुभयो ।