लिलाराज झापाली
बिर्तामोड, असोज २ गते । झापाको काँकडभिट्टा नाकाबाट तीन बालकको उद्धार गरिएको छ । अपरिचित व्यक्तिले ललाइफकाइ भारत लैजाँदै गरेका ती बालकलाई भारतीय एसएसबीले सीमा नाकाबाटै उद्धार गरी नेपालमा सशस्त्र प्रहरीलाई जिम्मा लगाएको हो ।
उद्धार गरिएका बालकहरू मेचीनगर नगरपालिका–१० स्थित धुलाबारी पाथीभरा टोलका १५ वर्षीय विशाल दनुवार, सोही ठाउँका १२ वर्षीय युवराज तामाङ र १२ वर्षीय सूर्य चौधरी रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका डिएसपी दिनेश कटुवालले बताउनुभयो ।
बालकहरूलाई भारततर्फ लगिरहेको सूचना पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाको टोलीले एसएसबीसँग समन्वय गरेको थियो ।
एसएसबीले उद्धार गरेका बालकहरूलाई सोमबार राति ८ः३० बजे सशस्त्रलाई जिम्मा लगाएको डिएसपी कटुवालले जानकारी दिनभयो । डिएसपी कटुवालका अनुसार बालकहरूलाई अभिभावकको जिम्मा लगाउनका लागि नेपालस्थित विश्व सेवा विस्तार संस्थाका प्रतिनिधिलाई बुझाइएको छ ।