• २० असार २०८१, बिहिबार

चिसो बढेसँगै बेँसी झर्दै भेडीगोठ

blog

लेकमा चिसो बढेसँगै बेँसी झर्दै भेडीगोठ । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा ,असोज २ गते ।  बाजुराका अधिकांश भेडीगोठ यतिबेला बेँसी झर्न थालेका छन् । समुद्री सतहदेखि झण्डै पाँच हजार मिटरभन्दा बढी अग्ला स्थानमा चिसो बढ्न थालेपछि भेडीगोठ बेँसी झर्न थालेका हुन् । 

बूढीनन्दा नगरपालिका-९ का भोडापालक कृषक प्रेमबहादुर थापाले गत चैत वैशाख गर्मीको समय भेडालाई सहज हुने गरी लेकमा लगेको तर अहिले त्यहाँ चिसो बढ्न थालेपछि ती भेडीगोठ फेरि बेँसीमा झार्न थालेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अब हिउँद सुरु हुने बित्तिकै लेकमा धेरै चिसो हुन्छ । चिसोले घाँस पनि सुक्छ । अनि त्यहाँ भेडालाई चराउन  समस्या हुने हुँदा अहिले ती भेडीगोठ बेँसीमा झार्नुपरेकाे हो ।”

गत चैत वैशाख महिनादेखि बूढीनन्दा, हिमाली, स्वामिकार्तिक, जगनाथ लगायतका स्थानीयले पालनका लागि भेडीगोठ लेकमा लगेका थिए । असोज महिनादेखि नै लेकमा पनि चिसो बढेसँगै अहिले यहाँका भेडापालक कृषकले ती भेडीगोठ धमाधम बेँसीमा फर्काउन थालेका हुन् ।

हिउँदमा लेकमा हिउँ पर्छ, हिउँ परेपछि भेडाबाख्रालाई धेरै चिसो हुन्छ । उता भेडालाई पनि चरनकाे समस्या हुन्छ ।  बेँसीमा चिसो छेल्न तथा पालन पोषण गर्न सहज हुने भएकोले भेडीगोठ बेँसी झार्ने गरेको थापाले बताउनुभयो ।

पहिला गाउँमा सबै वन खुल्ला हुन्थे । वनमा भेडा पाल्न सहज हुन्थ्यो । अहिले सबै वन सामुदायिक हुँदा पछिल्लो समय भेडालाई चरनकाे निकै समस्या हुँदै गएको उहाँले बताउनुभयो । पूर्वी उत्तर क्षेत्रका भेडापालक कृषक हिउँदको बेला बूढीगङ्गा, त्रिवेणी, खप्तड, छेडेदह र छिमेकी जिल्ला अछाम लगायतका ठाउँमा पालनका लागि भेडाबाख्रा लैजाने गर्दछन् ।

हिउँदमा चिसो र हिमपातका कारण बेँसी झर्नुपर्ने बेँसीमा पनि सामुदायिक वन उपभोक्ता समितिलाई महँगाे कर तिर्नुपर्ने भएपछि पछिल्लो समय भेडाबाख्रा पालनमा निकै चुनौती थपिँदै गएको प्रेम थापाले बताउनुभयो । उहाँले पछिल्लो समय भेडाबाख्रालाई चरिचरनमा समस्या भएपछि अहिले अधिकाशंले भेडाबाख्रा पाल्न छोड्दै गएको बताउनुभयो ।

यता भेडाबाख्राहरु वनमा पस्दा नयाँ हुर्किंदै गएका सबै बोटबिरुवा नष्ट हुने भएकोले भेडाबाख्रालाई वनमा बन्देज गरेको वन उपभोक्ता समिति बताउँछन् । बूढीनन्दा नगरपालिका वडा नं-९ का वडा अध्यक्ष मानबहादुर रावतले बूढीनन्दा नगरपालिका अधिकांश स्थानीयको भेडापालन नै मुख्य पेशा भएकोले यसलाई थप प्रोत्साहन दिँदै जानुपर्ने बताउनुभयो । उहाँले पछिल्लो समय अधिकांश वन सामुदायिक भएपछि चरनकाे समस्या भएको छ । अहिले समाधान गर्ने गरी स्थानीय सरकार र भेडापालक बीचमा छलफल भइरहेको रावतले बताउनुभयो ।